राष्ट्रिय सभामा चलचित्र विधेयक पारित गर्ने तयारी, यस्तो छ कार्यसूची
वि.सं.२०८२ माघ २७ मंगलवार १७:०४
shares

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रिय सभाको १९औँ अधिवेशन अन्तर्गत बुधबार बस्ने बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथ पारित गर्ने कार्यसूची रहेको छ ।
अपराह्न १ः१५ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
बैठकमा सुरुमा प्रश्नोत्तरको कार्यक्रम राखिएको छ। जसमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्। त्यसलगत्तै संसदीय समितिका प्रतिवेदनहरू सभामा पेस हुने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्नेछिन्। यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ’अध्यागमन ऐन, २०४९’ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।

























