हामी धेरै भाषण गर्दैनौँ, युवालाई देशमै काम गर्ने परिस्थिति बनाएरै छाड्छौँ : कुलमान घिसिङ
वि.सं.२०८२ माघ २७ मंगलवार १६:४८
shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी जनतालाई डेलिभरी दिएरै स्थापित भएको दाबी गरेका छन्।
उज्यालो नेपाल रामेछाप-काठमाडौं सम्पर्क मञ्चको पार्टी प्रवेश तथा युवा फ्रन्ट गठन कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक क्रान्ति नभएसम्म देश परिवर्तन नहुने बताएस्।
उनले भने, ‘हामी यो देशको आर्थिक रूपान्तरणको कुरा नगरीकन अब राजनीतिक पार्टीहरूले आफ्नो अस्तित्व बचाउन गाह्रो छ। त्यो भएको हुनाले यो उज्यालो नेपाल पार्टी, यो देशको उज्यालो भविष्यको लागि हामीले स्थापना गरेको पार्टी हो। हामीले धेरै डेलिभरी दिएका छौँ, केही काम गरेका छौँ, परिणाम दिएका छौँ। यो परिणाममुखी पार्टी हो।’
उनले आफूहरू भाषण गरेर नभई काम गरेर देशलाई परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यका साथ आएको बताए।
उनले भने, ‘विभिन्न पार्टीबाट यो पार्टीमा समाहित भएर अहिले प्रतिनिधि सभाको निर्वाचनमा होमिनु भएको छ। हामी धेरै सिटमा प्रतिस्पर्धामा छौँ र धेरै सिट जितेर आउने छौँ भन्ने पनि यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। मैले देशभरिबाट धेरै ठाउँमा अहिले चुनाव अगाडि सहभागी हुन धेरै कठिनाइ छ। केही ठाउँहरूमा, देशका केही भूभागमा, केही जिल्लाहरूमा पुग्नेछु।’
आफ्नो पार्टी कुनै दर्शनको अथवा कुनै राजनीतिक परिवर्तनको लागि मात्रै स्थापना नभएको जिकिर गरे।
उनले थपे, ‘यो पार्टीले देशको परिवर्तनको लागि, राजनीतिक रूपान्तरणको लागि, समृद्धिको लागि, सुशासन कायम गर्दै देश भित्रै रोजगारी सिर्जना गरेर यो देशमा हाम्रा युवा शक्तिलाई यही देशमा काम गर्ने परिस्थिति सिर्जना गरेर अगाडि बढ्नको लागि स्थापना भएको पार्टी हो।’

























