प्रचण्डको जिकिर- नेकपा पहिलो पार्टी बन्ने अन्तर्राष्ट्रिय संस्थाहरूको सर्भे रिपोर्टले देखाएको छ
वि.सं.२०८२ माघ २७ मंगलवार १२:५८
shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारको हिसाबले सबैभन्दा नयाँ पार्टी नेकपा नै भएको जिकिर गरेका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय, सबैको अधिकार र पहिचान स्थापित गर्ने पार्टी नेकपा नै भएको उनले बताए ।
दाहालले भने, ‘यो विचार भन्दा अर्को र नयाँ विचार कसैको पनि छैन । तर, सामाजिक सञ्जालबाट नयाँ भनेको विचार होइन, नयाँ भनेको मान्यता होइन, सिद्धान्त होइन, राजनीतिक मुद्दा होइन, नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको छ ।’
निर्वाचनको बेलामा मतदातालाई लिएर जाने, सुरक्षित ढंगले मतदान केन्द्रसम्म पुर्याउने, मतलाई मतपेटिकामा हाल्ने र मतपेटिकाबाट निर्वाचन परिणाम नहुँदासम्म सतर्कता अपनाउन पार्टी पंक्तिलाई उनले निर्देशन दिए ।
प्रचण्डले भने, ‘७७ वटै जिल्ला र सबै निर्वाचन क्षेत्रमा प्रभावित गर्न सक्ने हाम्रो हैसियत छ । पार्टीले अहिले काठमाडौं उपत्यका मात्रै होइन ठूला सहरहरू पोखरा, विराटनगर, भरतपुर या दाङ, नेपालगन्ज, धनगढीजस्ता ठाउँहरूमा पनि विभिन्न क्षेत्रबाट जो नागरिकहरू त्यहाँ बसेर काम गर्छन्, उनीहरूलाई पनि केन्द्रित गर्ने अभियान पनि हामीले चलाइराखेका छौँ ।’
उनले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी एक नम्बरको बन्ने सम्भावना रहेको बताए ।
दाहालले थपे, ‘यो मैले कुनै भावनामा आएर भनेको होइन । हामी देशभरि घुम्दाखेरि जनताको तहमा जे स्थिति बन्दै गएको छ, त्यसलाई हेर्दा र मैले विपक्षीहरूका पनि कुरा सुन्दा, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका सर्भेहरूको रिपोर्टहरू हेर्दा हामी पहिलो पार्टी बन्दैछौँ । त्यसका लागि यो २३-२४ दिन युद्ध स्तरमा हामी खट्नुपर्छ ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले सामाजिक सञ्जालमा भएको प्रचारबाजी अनुसार फिल्डमा नभएको टिप्पणी गरे ।
प्रचण्डले भने, ‘सोसियल मिडिया वाला, स्टन्टवाला भन्ने गरेका छौँ हामीले, पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ । तपाईँ उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन । नयाँ-नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ ।’

























