वीरगन्ज भन्सारमा कमलकिशोर मालपानीको रजाँई : काइरोस इन्टरनेसनल प्रालिद्वारा अबैधधन्दा
अर्थ मन्त्रालय, बाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल राष्ट्र बैंकसँगको अबैध सेटिङमा अर्बभन्दा बढी मुल्यका गाडी नेपाल भित्राई सकेको समेत भेटिएको छ ।
वि.सं.२०८२ माघ २६ सोमवार १०:५०
shares

काठमाडौं । देशमा बेमौसमी निर्वाचनको सरगर्मी बढी रहेको मौका छोप्दै केही उद्योगी व्यवसायीहरुले सरकारी कर्मचारीकै सेटिङमा विना भन्सार विलासीता बस्तुको आयात गरेको पाईएको छ । देशको अधिकाशं सरकारी निकाय निर्वाचनमा केन्द्रीत भएको अबस्थामा भन्सार विभाग अन्र्तरगतका कर्मचारीभने व्यवसायीसंगको अबैध साँठगाँठ गरेर करोडौ मुल्य पर्ने विलासिताका सवारीसाधनको खुलेआम आयात गरेको पाइएको । भन्सार नाकाबाटै घुसमा सेटिङ मिलाउदै सवारी सधान आयात भएपछि वर्तमान सरकारले अर्को नयाँ काण्डको रचना सुरु गरेको समेत आरोप केही व्यवसायीहरुकै रहेको छ ।
अर्थ मन्त्रालय, बाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल राष्ट्र बैंकसँगको अबैध सेटिङमा अर्बभन्दा बढी मुल्यका गाडी नेपाल भित्राई सकेको समेत भेटिएको छ । सरकारी निकायमै रहेका माफियासँग घुस सेटिङमा चुनावकै मौका छोपेर गाडी आयात गरेको बताइएको छ । चर्को व्यापार घाटा, रेमिट्यान्सको आप्रवाहको अवस्था तथा विदेशी मुद्रा संचितीको विश्लेषण गर्ने हो भने देशको अवस्था अझै सुध्रिसकेको छैन । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्जबाट एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएको तथ्याङक रहेपनि त्यो भन्दा बढीमात्रामा अबैधरुपमा गाडीको आयात भएको समेत बताइएको छ ।
यसरी अबैध रुपमा सवारी साधानको आयात भएपनि पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कर छलि गरि नेपाल भित्राएका १५ वटा ल्यान्डरोभर ब्रान्डका सवारीसाधन बारे अनुसन्धान गरि रहेको बताइएको छ । तीमध्ये एउटा सवारी साधन राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) ले चुनावी प्रचारका क्रममा प्रयोग गरेको समेत अख्तियार स्रोतले जनाएको छ । अख्तियारको प्रारम्भिक अध्ययन अनुसार झापा–५ क्षेत्रको चुनावी प्रचारमा प्रयोग गरिएको ल्यान्डरोभर डिफेन्डर गाडी सहित १५ वटा गाडीमा कर छली भएको पाइएपछि छानविन सुरु गरिएको बताइएको छ ।
आयोगले ती सवारीसाधनबाट २ करोड २१ लाख रुपैयाँभन्दा बढी राजस्व क्षति भएको प्रारम्भिक निष्कर्ष समेत निकालेको छ । अनुसन्धानबाट ल्यान्डरोभर डिफेन्डर ११० मोडलका डिजेल इन्जिन भएका गाडीलाई भन्सार जाँचका क्रममा पेट्रोल वा प्लग–इन हाइब्रिड इन्जिन भएको भनेर झुट विवरण देखाई न्यून भन्सारदरमा गाडी छुटाइएको पाइएको छ । डिजेल इन्जिन भएका यस्ता गाडीमा लाग्ने भन्सारदर ३५० प्रतिशतभन्दा बढी हुने भए पनि कर्मचारीसंगको सेटिङमा २५८ प्रतिशत मात्र भन्सार राजश्व तिरेर भन्सार प्रज्ञापन पत्र दिई नेपाल भित्राइएको अख्तियारले जनाएको छ ।
यसरी गलत विवरण प्रयोग गरी दुई वटा डिफेन्डर गाडीमा मात्रै १ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व छली भएको बताइएको छ । तीमध्ये बालेनले प्रयोग गरेकोे गाडीमा मात्र ७६ लाख रुपैयाँ कर छलि गरि भित्राइएको अख्तियारको प्रारम्भिक छानबिनबाट खुलेको छ । अन्य ल्यान्डरोभर कम्पनीकै रेन्ज रोभर भेलार र इभोक मोडलका थप ४ वटा डिजेल इन्जिन गाडीमा समेत कर छलि गरि नेपाल भित्राइएको छ । ती गाडीमा डिजेललाई पेट्रोल वा हाइब्रिड भनेर घोषणा गरी भन्सारदर घटाएर आयात गरिएको छ । भने यी चार गाडीबाट ७१ लाख रुपैयाँभन्दा बढीको राजस्व छली गरिएको अख्तियारको ठहर रहेको छ ।
सबै सवारीसाधन वीरगन्ज भन्सार कार्यालय हुँदै नेपाल भित्राइएको हो । भने अहिले सो भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतहरु अर्जुन न्यौपाने, ललिता ज्ञवाली, काजी बाबु कोईराला र उदयसिंह विष्ट र प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनाली रहेका छन् । सोही टिमको सहभागीतामा भन्सार कर्मचारी र व्यवसायीसंगको सेटिङबाट ति गाडी न्यूनभन्सार गरि आयात गरेको आरोप समेत लागेको छ । उता कर छली गरि भित्राइएको ति सवारी साधनलाई यातायात व्यवस्था कार्यालयहरूले प्राविधिक स्पेसिफिकेसन समेत जाँच नगरि दर्ता गरेको पाइएको छ ।
भन्सार कार्यालय, यातायात व्यवस्था विभाग र सम्बन्धित कार्यालयका कर्मचारीको मिलेमतोमा प्रक्रिया अघि बढाइएको आशंका अख्तियारले गरेको छ । अनुसन्धानमा काइरोस इन्टरनेसनल प्रालि नामक कम्पनीको संलग्नता रहेको देखिएको छ । सो कम्पनीले सन् २०२४ यता नेपालमा आयात गरेका ल्यान्डरोभरका विभिन्न मोडलका सवारीसाधनमा अनियमितता भेटिएको अख्तियारको भनाई छ । उक्त कम्पनी विवादास्पद व्यापारी कमल किशोर मालपानीसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।
अख्तियारले यस प्रकरणमा भन्सार विभाग, यातायात व्यवस्था विभाग तथा अन्य सरोकारवाला निकायका कर्मचारीको भूमिकाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ। कर छल्ने उद्देश्यले गलत विवरण तयार पार्ने, स्वीकृति दिने र दर्ता प्रक्रियामा संलग्न सबै पक्षमाथि छानबिन जारी रहेको आयोगको भनाइ छ ।
उक्त गाडी अधिकांश गुट्खा र करेन्ट चाउचाउ व्यापारी कमलकिशोर मालपानीका नाममा रहेको त्रिमूर्ति इन्टरप्राइजेजका नाममा दर्ता छ । मालपानीको यशोदा फुड्स,श्रीराम टोबाको,त्रिमूर्ति इन्टरप्राइजेजलगायत दर्जनौं कम्पनी छन् । स्रोतका अनुसार बालेनले चढेको डिफेण्डरमा ७६ लाख र सोही मोडलका अन्य गाडीमा असोज २३ गते भन्सार छुटाउने क्रममा ७३ लाख रुपैयाँ राजश्व छली गरिएको आशंका छ । उक्त कम्पनी भित्र्याउने गाडी कम्पनी काइरोस इन्टरनेशनल हो ।
काइरोस पनि मालपानीनिकट कम्पनी हो । अर्को स्रोतले प्रख्यात बिचौलिया दीपक भट्टसँग मिलेर हङकङमा नक्कली कम्पनी खडा गरेपछि ती गाडी नेपाल ल्याएको दाबी गरेको छ । मालपानीको कम्पनी यशोदा फुड्समा सिईयो रघुनाथ घिमिरे छन् ।
घिमिरे उनै हुन् जसलाई जनार्दन शर्मा अर्थमन्त्री हुँदा वार्षिक बजेट तर्जुमा गर्ने क्रममा करको दर हेरफेरमा संलग्न भएको आरोप लागेको थियो । अनुसन्धानको क्रममा सिसिटिभी फुटेज हेर्न खोज्दा तार मुसाले काटेको भनेपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा शर्मा र घिमिरेलाई ‘मुसा’को संज्ञा दिइएको थियो ।

























