काठमाडौं मंगलबारको धुवाँ र आगोको मुस्लोबाट बुधबार बिहानदेखि मुक्तहुने तयारीमा ?

वि.सं.२०८२ भदौ २५ बुधवार ११:५२
shares

काठमाडौं । मंगलबारको तुलनामा काठमाडौं केही शान्त देखिएको छ। मुख्य चोकमा सेना खटिएका छन्। सेनाले ब्यारिकेड तेर्स्याएर भित्री बाटो पूर्ण रूपमा बन्द गरेका छन्। अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन, गल्लीको बाटो प्रयोग नगर्न माइकिङ गरिरहेका छन्।
मंगलबार सिंहदरवार, बालुवाटर प्रधानमन्त्री निवास, प्रधानमन्त्री ओलीको बालकोटको निजी निवास, पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नीजी निवासदेखि बानेश्वरको संसद भवनसम्म जलेर नष्ट भएका छन ।
बिहानपख केही पेट्रोल पम्प, खाद्यान्न पसल, अत्यावश्यक सेवा स्थलहरू खुलेको भए पनि ९ बजेपछि क्रमशः बन्द हुन थालेका छन्। प्रदर्शनकारीहरूले जलाएका ट्राफिक पोष्ट सडकमा यत्रतत्र देख्न सकिन्छ। जलाइएका सवारी साधन बाटैभरि असरल्ल छन्।
बिहानीपख काठमाडौं महानगर क्षेत्रभित्र नगर प्रहरीहरू आन्दोलनकारीले जलाएका सवारी साधनको अवशेष पन्छाउन खोज्दै थिए। सडकमा जलेर बाँकी रहेका टायर, कागजात र अन्य वस्तुका अवशेष पन्छाउँदै थिए। तर ठूलो परिमाणमा रहेका त्यस्ता अवशेष पन्छाउन कठिन भएको, जनशक्ति र सवारीसमेत नपुगेको उनीहरूले बताइरहेका छन्।
काठमाडौंको बौद्ध क्षेत्रमा ठूलो संख्यामा मानिसहरू हिजोको विध्वंश हेर्न घर बाहिर निस्किएका छन्।
काठमाडौंका अधिकांश डिएसपी कार्यालय, प्रहरी बिटहरूमा प्रदर्शनकारीले आगजनी गरेका थिए। बौद्ध स्तुपअगाडि रहेको डिएसपी कार्यालयबाट अझै धुवाँ आइरहेको छ। हायात होटलअगाडि रहेको भाटभटेनी आन्दोलनकारीले लगाएको आगोले जलेर नष्ट भएको छ। भाटभटेनी स्टोर १९ घन्टादेखि निरन्तर जलिरहेको छ।
भाटभटेनीअगाडि बिहान ९ बजेपछि सेनाले उपस्थिति बढाएको देखिन्छ। यद्यपि त्यहाँ सर्वसाधारण अझै घरबाहिरै छन्। भाटभटेनीभित्र रहेका प्रज्ज्वलनशील वस्तुहरूमा निरन्तर आगो लागेको र दमकल आउने अवस्था नरहेकाले छिमेकका घर पनि जोखिमपूर्ण बनेका छन्।
चाबहिल चोकमा नेपाली सेनाले तैनाथी बढाएको छ। सेनाले गणेशस्थान, पशुपति क्याम्पस छिर्ने गल्लीको बाटो ब्यारिकेड राखेर बन्द गरेको छ। गौशाला चोक, पशुपति छिर्ने सडकको दायाँतर्फ रहेको डिएसपी कार्यालय पूर्ण रूपमा नष्ट भएको छ। प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीहरूले भागेर ज्यान जोगाएका थिए।
नक्सालमा रहेको हिल्टन होटल २० घन्टादेखि जलिरहेको छ। त्यहाँ आगाको मुस्लो छुटेको देख्न सकिन्छ। नक्सालमै रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापनमा भर्खर आगो लाग्न सुरू भएको छ।
त्यहाँ बिहानीपखबाट आगो लाग्न थालेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बालुवाटारमा रहेको प्रधानमन्त्री निवास, महाराजगञ्जमा रहेको राष्ट्रपति भवनमा ठूलो क्षति पुगेको छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री नेपाली सेनाको सुरक्षा घेराभित्र छन्। नेपाली सेनाले उनीहरूलाई सुरक्षित स्थानमा राखेको बताएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आफूहरू सुरक्षित ठाउँमा रहेको जानकारी दिएका छन्।
सिंहदरबारको स्थिति विद्रुप र टीठलाग्दो छ। सिंहदरबारको पश्चिम मोहोडामा अझै आगो लागिरहेको छ।
त्यहाँ २० घन्टादेखि आगो नियन्त्रणमा आएको छैन। यद्यपि नेपाली सेनाको अग्नि नियन्त्रक समूहले आगो निभाउने प्रयास गरिरहेको छ। तर अब त्यहाँ आगो निभाउनुको पनि अर्थ छैन।
सिंहदरबारमा रहेका सबैजसो मन्त्रालय, पार्टीका संसदीय दलका कार्यालय खण्डहर छन्। सिंहदरबारभन्दा बाहिर मूल सडक छेउछाउ रहेका सबैजसो सरकारी कार्यालयमा अझै आगो लागिरहेको छ। सहरी विकास तथा भवन निर्माण विभाग पूर्णरूपमा जलेर नष्ट भएको छ। त्यहाँको आगो १९ घन्टादेखि नियन्त्रणमा आएको छैन।
रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जलेर नष्ट भएको छ। यहाँ केही पनि नबचेको कर्मचारीले जानकारी दिएका छन्।
मन्त्रालय परिसरमा १०० भन्दा बढी जलेका सवारी साधनको अवशेष देख्न सकिन्छ। सिंहदरबारभित्रका मन्त्रालयहरूको परिसरमा रहेका सबैजसो सवारी साधन तोडफोड गरी जलाइएका छन्।
सर्वोच्च अदालत खरानीको थुप्रोमा परिणत भएको छ।
सर्वोच्च अदालतमा ६० हजारभन्दा बढी मुद्दाका फाइल जलेर खरानी भएका छन्। बचेखुचेका कागजपत्र मूल सडकभरि छरिएका छन्। सँगै जोडिएको महान्यायाधिवक्ताको कार्यालयमा पनि आगजनी गरिएको छ। यो भर्खरै बनेको भवन हो।
यसका साथै माइतीघरमा रहेको जिल्ला सरकारी वकिलको कार्यालयमा पनि क्षति पुगेको छ। यो पनि नवनिर्मित भवन हो।
सिंहदरबारको पश्चिम गेटमा नेपाली सेना तैनाथी देख्न सकिन्छ।
माइतीघरबाट सिंहदरबार जानेतर्फ पनि नेपाली सेनाले सुरक्षाजाँच बढाइरहेको छ। सेनाले सवारी चालक र पैदल यात्रुहरूलाई समेत रोकेर सोधखोज गरिरहेका छन्। कतिपय स्थानमा खानतलासी पनि गरेको स्थानीयले बताएका छन्।