गायक गायिका कति कति, भए जतिका सबै गीतकार र कोही सङ्गीतकार

गायक गायिका कति कति,
भए जतिका सबै गीतकार
कोही सङ्गीतकार
ओहो मोडल, मोडल्नीहरुको हानथाप
करोडौं उडेको छ म्युजिक भिडियोमा
फुस फुस कपास उडे सरी
युट्युबरहरु अगाडि पछाडि
अन्तर्वार्ता बिस्कुन सुकाए जस्तै
जता हेर्‍यो उनै
व्यस्त छन् सबै
हाइ हाइ छन् जताततै
टिकटक, फेसबुक, अनलाइन
सामाजिक सञ्जालहरू भरी भराऊ !
टेलिभिजनमा तिनै बज्छन्
तिनै देखिन्छन् जता पनि
हाम्रा गाउँको काले
अहिले भाइरल भएको छ
कालीको के कुरा गर्नु !
उ आफ्नै मान्छे चिन्दिन
त्यस माथि तीजको सिजन छ
जे गाए पनि हुने
जसरी गाए पनि हुने
नाचको के कुरा भो र !
कोही बिच बिचमा नाच्छन
कोही छेउ छाउँमा
अर्धनङ्न शरीर
अँङ्ग प्रत्यङ्ग सबै बिक्रीमा छन
हाट बजारका सामानहरु जस्तै
आफ्नो बेइज्जत भएको देखेर
गिटारहरू कति रुँदा हुन धुरु धुरु
ड्रमसेटहरुले,
मलाई कहाँ ल्याएर बजाको ?? भन्दै
कति विरक्त हुँदा हुन
मादल, सारङ्गी, बाँसुरीहरू
यस्तो देख्दा कति भक्कानिँदा हुन
हजुर आमा, आमाहरू
राम राम के देख्नु परेको हो भन्दै
छोप्दा हुन दुवै आँखाहरू
हजुर बा र बा हरू के हुँदा हुन !!
कोरोना भाइरस पनि
मुख मिठ्याउँदो हो
उनीहरू भाइरल भएको देखेर
हिट छन् उनीहरू अहिले
फिट छन् उनीहरू अहिले
यस पालिको तीज झन् भाइरल छ
कोरोना भाइरस भन्दा पनि !

२४,श्रावण.२०७८,आईतवार १८:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्