युवक प्रिन्सको हत्या : सामान्य विवादपछि छुरा हान्ने अर्जुन ४ वटा अपराधमा संलग्न

जनकपुरधाम । सोमबार जनकपुरधाम उप–महानगरपालिका ४ विश्वकर्मा चोकमा २० वर्षीय प्रिन्स महासेठको हत्या भयो । महोत्तरीको एकडरा गाउँपालिका ३ घर भएका महासेठ केही दिनदेखि जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा गरी बस्दै आएका थिए ।

जटहीबाट बस चढेर जनकपुरधाम आएलगत्तै उनीमाथि छुरा (चक्कु) प्रहार भएको थियो । घाईते अवस्थामा सडकमा लडेका उनलाई प्रहरीले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल पुर्याए । तर चिकित्सकले उनलाई मृत घोषणा गरे । प्रहरीले घटना भएको एक घण्टा नबित्दै छुरा प्रहार गर्ने युवकलाई पक्राउ गर्यो । पक्राउ परेका जनकपुरधाम ४ शान्तिनगरका २२ वर्षीय अर्जुन भन्ने अजय कुमार साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

अर्जुनको साथबाट वारदातमा प्रयोग गरिएको चक्कु बरामद भएको र उनले अपराध स्वीकार गरिसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । उनका अनुसार मृतक प्रिन्स र अर्जुनबीच जटहीमा सामान्य विवाद भएको थियो । जटहीबाट दुबैजना बस चढेर जनकपुरधाम आए । विश्वकर्मा चोक आएलगत्तै प्रिन्सको कठालो समातेर बसबाट तल झारेर अर्जुनले कुटपिट गरेका थिए ।

कुटपिट गर्दा प्रिन्स र उनका साथी रोषण कुमार झा भाग्न खोजेका थिए । सोही क्रममा प्रिन्सको बाँया साइडको छात्तीमा अर्जुनले चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको डिएसपी अवाले बताए । अर्जुन लागूऔषध सेवनकर्ता हुन् । डिएसपी अवा भन्छन्, ‘अर्जुनले बस्ने जनकपुरको जिरोमाइल तथा अन्य एरियाहरुमा आफूलाई बाहुबली सम्झिने गर्थे । उनी भारतीय नाकामा गई लागूऔषध सेवन गर्थे । अन्य केटाहरुलाई पनि सेवन गर्न लगाउँथे र भनेको कुरा नमान्नेलाई कुटपिट गर्थे ।’

प्रहरीको रेकर्डअनुसार अर्जुन यसअघि चार घटनामा संलग्न भइसकेका छन् । पटक पटक मुद्दा झेलेपनि उनी सुध्रेनन् । र, फेरि अपराधिक चरित्र प्रदर्शन गरे– चक्कुले यूवक प्रिन्सको हत्या गरेर ।Nअर्जुनमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भइरहेको डिएसपी अवाले जानकारी दिए ।

अर्जुन संलग्न घटनाहरुः

– २०७२ साउन ३२ मा अर्जुन उपर जिल्ला प्रहरी कार्यालय धनुषाबाट केही सार्वजानिक अपराध सम्बन्धी कसुर मुद्दामा पक्राउ भई मुद्दा चलाएको ।

– २०७८ मंसिर २१ मा अर्जुन उपर जिल्ला प्रहरी कार्यालय धनुषाबाट सार्वजानिक शान्ति विरुद्धको कसुर मुद्दामा पक्राउ भई मुद्दा चलाएको ।

– २०८० वैशाख ०७ मा अर्जुन उपर जिल्ला प्रहरी कार्यालय धनुषाबाट चोरी मुद्दामा पक्राउ भई आवश्यक अनुसन्धान पश्चात धनुषा जिल्ला अदालतको निर्णयबाट पुर्पक्षका लागि जलेश्वर कारागार पठाईएको ।

-२०८० मंसिर १६ गते अर्जुन उपर जिल्ला प्रहरी कार्यालय धनुषाबाट अभद्र व्यवहार मुद्दामा पक्राउ भई मुद्दा चलाईएको ।

२७,चैत्र.२०८०,मंगलवार १८:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्