मस्को नरशंहारमा सय जनाको उद्धार गर्ने १५ वर्षका रुसी किशोरलाई पुरस्कारको ओइरो

एजेन्सी । नाम इस्लाम खालीलोभ । उमेर १५ वर्ष । काम रुसको राजधानी मस्कोमा रहेको क्रोकस सिटीमा पार्ट टाइम जागिर । यो सामान्य परिचयका खालीलोभको पहिचान अहिले व्यापक भएको छ । उनी रुसका त नायकै भएका छन् ।

विश्वभरका मिडियाहरूले उनको समाचार बनाएका छन् । कारण हो मस्कोको कन्सर्टमा शुक्रवार भएको नरशंहारमा उनले गरेको सय भन्दा बढीको उद्धार । रुसी रक ब्यान्ड पिकनिकको भव्य प्रदर्शन भएको समयमा विदेशबाट आएका आतंककारीहरुले जथाभाबी बन्दुक पड्काए । जो भेटे त्यो मार्न थाले ।

भिडभाडमा कसलाई के गर्ने केहि अत्तोपत्तो भएन । यस्तो बिलखबन्धमा भएको समयमा खालिलोभले सय भन्दा बढिलाई उद्धार गरेर सुरक्षित क्षेत्रमा लगे । उनले गरेको उद्धार र जानकारीको भिडियो अहिले सामाजिक सञ्जालभरि भाइरल भएको छ । रुसमा मात्रै नभएर विश्वभर भाइरल भएको छ ।

आफूलाई सबैले नायक भन्दा खालीलोभले त्यसलाई अस्वीकार गर्दै भनेका छन्, ‘म नायक होइन । मैले त आफूले गर्नुपर्ने दायित्व निभाएको हो ।’ उनको उद्दारपछि उनलाई रुसमा धेरै सहयोग जुटेको छ । उनको प्रिय क्लब मस्को स्पार्तकले उनीसँग भेटघाटको चाँजोपाँजो मिलाइदिएको छ ।

उनलाई क्लबको खेलमा निःशुल्क पास दिइएको छ । रुसी र्‍याप कलाकार मोर्गेन्स्त्रनले खालीलोभको खातामा दश लाख रुबल अर्थात् एघार हजार अमेरिकी डलर हालिदिएका छन् ।

रुसी मुस्लिमको संस्थाले उनलाई बहादुरीको पदक दिने घोषणा गरेको त्यसका नेता मुफ्ती राभिल गुइनुतदिनले रुसी विश्व च्यानल आरटीलाई जानकारी दिएका छन् ।

१२,चैत्र.२०८०,सोमबार १४:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्