अमेरिकाले लगाउन खोजेको प्रतिबन्धविरूद्ध टिकटकले कानुनी ल‍डाईं लड्ने

एजेन्सी । टिकटकले अमेरिकी सरकारले लगाउन खोजेको सम्भावित प्रतिबन्धविरूद्ध कानुनी लडाईं लड्ने भएको छ।

अमेरिकी सिनेटले मंगलबार टिकटक सम्बन्धी विधेयक पास गरेपछि टिकटकका सिइओ झोउ शौजीले त्यसविरूद्ध कानुनी लडाईंमा जाने तयारी भइरहेकाले प्रयोगकर्ताहरूलाई नहतासिन भनेका छन्।

‘हामी कहीँ जाँदैनौं, सरकारले ल्याएको विधेयकविरूद्ध अदालत जानेछौं र यसमा हामी विश्वस्त पनि छौं,’ सिइओ शौजीले सामाजिक सञ्जालमार्फत भनेका छन्।

चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै फागुन अन्तिममा अमेरिकी तल्लो सदनले विधेयक पास गरेको थियो।

उक्त विधेयकमा टिकटक अमेरिकालाई नबेचे प्रतिबन्ध लगाइने भनिएको थियो।

मंगलबार माथिल्लो सदनले पास गरी बुधबार अमेरिकी राष्ट्रपति बाइडेनले प्रमाणीकरणसमेत गरिसकेका छन्।

अमेरिकामा पनि टिकटक बन्द गर्न नहुने पक्षमा ठूलै जमात छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्सका मालिक एलन मस्कले टिकटक बन्द गरिनु नागरिकहरूको वाक स्वतन्त्रतामाथि बन्देज लगाउनु रहेको बताउँदै सरकारले यसबारेमा सोच्नुपर्ने भनेका थिए।

चिनियाँ कम्पनी बाइटडान्समाथि आफ्ना नागरिकहरूको विवरण संकलन गरेर चीन सरकरालाई दिएको आरोप अमेरिकाको छ। उक्त आरोपलाई टिकटकले खण्डन गर्दै आइरहेको छ।

राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेसँगै विधेयक कार्यान्वयनको प्रक्रियामा गएको छ।

यथास्थितिमा टिकटक बिक्री गर्नका लागि हाल टिकटक बनाउने चिनियाँ कम्पनी बाइटडान्सलाई ९ महिनाको समय उपलब्ध हुनेछ।

त्यस समयभित्र टिकटक बेच्ने प्रक्रिया सुरू भए थप तीन महिनाको समय उपलब्ध हुने विधेयकमा उल्लेख रहेको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यसअर्थ अमेरिकामा टिकटक तत्काल बन्द हुने भने होइन। तर त्यस अवधिमा प्लेस्टोर र एपल स्टोरमा भने टिकटक एप नदेखिने बताइएको छ।

मोबाइलमा डाउनलोड भएका टिकटक भने चलिरहने तर त्यसमा कम्पनीले अपडेट फिचर पठाउन नसक्ने समाचार संस्था एशोसियटेड प्रेसले उल्लेख गरेको छ।

अमेरिकामा १७ मिलियन टिकटक प्रयोगकर्ता छन्।

१३,बैशाख.२०८१,बिहीबार १५:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्