जनमतको प्रदर्शनको बाबजुद सुरक्षा घेरामा उपेन्द्र यादवले गरे मधेश कृषि विश्वविद्यालयको शिलान्यास

जनकपुरधाम । जनमत पार्टीको अवरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादव मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् ।

सप्तरीको राजविराज नगरपालिका १३ बिसहरियामा विश्वविद्यालयको भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ । जसपा अध्यक्ष यादव र मुख्यमन्त्री सरोज कुमार यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

विश्वविद्यालयको भवन निर्माण स्थल सप्तरी क्षेत्र नम्बर २ मा पर्छ । त्यस क्षेत्रमा जसपा अध्यक्ष यादवलाई हराएर जनमतका अध्यक्ष डा. सीके राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

आफ्नो क्षेत्रमा आएर विश्वविद्यालय भवनको शिलान्यास जसपा अध्यक्ष यादवले गर्न लागेको भन्दै सीके राउत आक्रोशित छन् । हिजै विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेका जनमतका नेता कार्यकर्ताहरु आज शिलान्यास स्थलमा प्रदर्शन समेत गरिरहेका छन् ।

प्रदर्शनको नेतृत्व जनमतका प्रदेश सांसद सतिश सिंहले गरेका छन् । झडप हुने स्थिति देखेर सुरक्षाकर्मीले प्रदर्शनमा उत्रेकाहरुलाई शिलान्यास स्थलभन्दा करिब दुई सय मिटर वरै रोकेका छन् ।

जनमतको प्रदर्शनका कारण शिलान्यास स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै जसपाले पनि आफ्नो कार्यकर्ताहरु उतारेका छन् । जसपा अध्यक्ष यादव सुरक्षाकर्मी र कार्यकर्ताको घेरामा शिलान्यास स्थल पुगेका थिए ।

विश्वविद्यालयका सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री महेश प्रसाद यादव छन् । जनमत पार्टीबाट मन्त्री बनेका उनी शिलान्यास कार्यक्रम बहिष्कार गरे । उनले विवादका बाबजुद शिलान्यास गर्न लागेको भन्दै अप्रिय घटना भए त्यसको जिम्मेवारी विश्वविद्यालयको भिसी र रजिष्टार हुने चेतावनी दिएका थिए ।

८,माघ.२०८०,सोमबार १५:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्