सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नतामाथि छानबिन हुनुपर्छ भन्ने कांग्रेसको अडान हो: लेखक

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्छ भन्ने अडानमा पार्टी रहेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सहकारीका विषयमा समग्र छानबिनको कुरा ल्याएको प्रसंग उल्लेख गर्दै लेखकले गृहमन्त्री लामिछानेको संलग्नतामाथि पनि छानबिन हुनुपर्ने बताए।

‘सहकारीको रकम अपचलन भएको लगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्’, गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै लेखकले महेन्द्रनगरमा सोमबार भएको पत्रकार सम्मेलनमा भने, ‘हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौं।’

उनले प्रधानमन्त्री दाहालबाट सहकारी छानबिनको विषयमा समग्रमा छानबिनको विषयमा सकारात्मक धारणा आएको बताउँदै त्यसका लागि कांग्रेस सकरात्मक रहेको बताए।

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको लेखकको भनाइ छ। वैशाख २८ गते संसद् बैठक हुनुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको लेखकले बताए।

यसैबीच लेखकले ठूला राजनीतिक दलहरुबीच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताए।

अहिलेको सरकार समीकरणमा नेकपा (एमाले) भित्र पनि असन्तुष्टि रहेको दाबी गरेका लेखकले सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राखे।

‘कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ। जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन्,’ उनले भने।

कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको उनले बताए। सरकार चलाउन नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य आवश्यक हुने उनको भनाइ छ।

२४,बैशाख.२०८१,सोमबार ११:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्