लेबनानका मन्त्रीको पुरानो भिडिओले मध्यपूर्वमा तरंग

एजेन्सी । लेबनानका सूचना मन्त्री जर्ज कोर्दाहीको एक पुरानो भिडिओले मध्यपूर्वको राजनीतिमा तरंग ल्याएको छ।

केही दिनअघि सामाजिक सञ्जालमा प्रसारण भएको कोर्दाहीको उक्त भिडिओमा साउदी अरबले छिमेकी यमनमा गरेको हस्तक्षेप र युद्ध मुर्खतापूर्ण र गलत भएको उल्लेख गरिएको छ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ। मुख्य रूपमा अब्द्राबुह मनसर हादी नेतृत्वको सरकार र हाउथी विद्रोही समूहबीच लडाइँ भइरहेको भए पनि त्यहाँ विभिन्न समूह सक्रिय छन् र ती समूहमा बाह्य मुलुकको प्रभाव पनि उत्तिकै छ। साउदी सरकारले हादी नेतृत्वको सरकारलाई सघाइरहेको छ भने उसको चीर प्रतिद्वन्द्वी इरान हाउथीका पक्षमा छ।

लामो समय आफूले सघाउँदै आएको लेबनानका मन्त्रीले आफ्नो विदेश नीतिको आलोचना गरेको भन्दै उक्त क्षेत्रको शक्तिशाली मुलुक साउदी अरबले कडा कदम चालेको हो। उसले शुक्रबार बेरूतबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने लेबनानका राजदूतलाई ४८ घन्टाभित्र देश छोड्न भनेको छ।

समाचार संस्था रोयटर्सका अनुसार साउदीले लेबनानबाट हुने सबै आयात पनि बन्द गरिदिएको छ। साउदीको कदमपछि उसका छिमेकी बहराइन र कुवेतले पनि लेबनानका राजदूतलाई ४८ घन्टाभित्र आफ्नो देश छोड्न अल्टिमेटम दिएका छन्। साउदीको अर्को छिमेकी युनाइटेड अरब इमिरेट्सले पनि शनिबार बेरूतबाट आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता बोलाउने र नागरिकलाई लेबनान जान प्रतिबन्ध लगाउने बताएको छ।

कतार र ओमान पनि सदस्य रहेको गल्फ कोअपरेशन काउन्सिलले पनि कोर्दाहीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भनेको छ।

पछिल्लो समयमा विकसित भएका यी घटनाक्रमले लेबनानका प्रधानमन्त्री नाजिब मिकाता नेतृत्वको गठबन्धन सरकार दबाबमा परेको छ। गत वर्ष बेरूत बन्दरगाहमा भएको बिस्फोट र त्यसपछिको राजनीतिक अस्थिरताले लेबनान चरम आर्थिक संकटबाट गुज्रिरहेको छ।

मिकातीले गत महिनामात्रै गठबन्धनको सरकार बनाएका थिए। सूचना मन्त्री जर्ज कोर्दाही क्रिश्चियन मार्दा समूहसँग जोडिएका छन्। उक्त समूहलाई चरमपन्थी समूह हेज्बुल्लाहको सहयोगी मानिन्छ। हेज्बुल्लाह इरानसमर्थित समूह हो। साउदी अरब र इरानबीच तिक्ततापूर्ण सम्बन्ध छ। त्यसैले पनि यो विषय निकै जेलिएको छ।

हेज्बुल्लाहले कोर्दाहीको सराहना गर्दै उनका विरूद्ध बनिरहेको माहौललाई लिएर साउदी अरबको निन्दा गरेको छ।

साउदी अरब र अरू मुलुकको कदमपछि लेबनानमा सूचना मन्त्री कोर्दाहीको राजीनामा पनि मागिएको छ। प्रधानमन्त्री मिकाती र राष्ट्रपति माइकल आयोन साउदी अरबसँग विवाद नबढाएर समाधान गर्ने पक्षमा छन्। प्रधानमन्त्री मिकातीले भिडिओमा कोर्दाहीले अभिव्यक्त गरेको विचारले आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने बताइसकेका छन्।

उनी सूचना मन्त्री कोर्दाहीलाई राजीनामा लागि दबाब दिन भने सक्दैनन् किनकी उनले राजीनामा दिएपछि गठबन्धनका अरू दल पनि सरकारबाट बाहिरिने र मिकाती सरकार ढल्ने खतरा छ।

साउदी अरबले दादागिरीको शैलीमा काम गरेको भन्दै कोर्दाहीले राजीनामा दिन नहुने आवाज पनि लेबनानभित्र छ।

कार्दाहीले पनि उक्त भिडिओ आफू मन्त्री बन्नुभन्दा अघिको भएकाले त्यो आफ्नो नितान्त व्यक्तिगत विचार भएको उल्लेख गरेका छन्। यही विषयलाई लिएर उनी राजीनामा दिने पक्षमा छैनन्।

१४,कार्तिक.२०७८,आईतवार ०९:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्