लुम्बिनीका तीन ठूला शहर बुटवल, घोराही र नेपालगन्जमा Gen-Z को प्रदर्शन

वि.सं.२०८२ भदौ २३ सोमवार १३:००
shares

रुपन्देही । लुम्बिनी प्रदेशका तीन शहरमा जेनजीले प्रदर्शन गरेका छन् । रुपन्देहीको बुटवल, दाङको घोराही र बाँकेको नेपालगन्जमा उनीहरूले स्वतःस्फूर्त प्रदर्शनमा उत्रेका हुन् ।
सामाजिक सञ्जाल बन्दविरुद्ध बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् ।
बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् ।राजमार्ग चौराहामा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।
सामाजिक सञ्जालमा आह्वान गरिएको आन्दोलनका लागि सोमबार स्वतःस्फूर्त जेन जीहरू भेला भएका थिए। उनीहरूले मिलनचोक, बसपार्क पुष्पलालपार्क, गोलपार्क लगायतका स्थानमा प्रदर्शन गरेका थिए ।
आन्दोलनमै सहभागी युवराज काफ्लेले युवा पुस्तामा अहिलेको सरकारप्रति बढिरहेको बितृष्णा नै आन्दोलनको पहिलो रुप भएको बताए। उनले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकार ढुङ्गे युगमा नागरिकलाई लैजाने प्रयासमा रहेको जनाए ।
यसैगरी बाँकेको नेपालगन्जको वीपीचोकदेखि धम्बोजीसम्म प्रदर्शन गरेको त्यहाँस्थित पत्रकार शरण कर्माचार्यले जानकारी दिए । दाङको घोराहीमा गरिएको प्रदर्शनमा अन्तभन्दा धेरै युवा पिँढी सहभागी रहेका थिएन । यसैगरी लमही र भालुवाङमामा पनि प्रदर्शन गरिएको थियो ।