विदेशमा स्नातकोत्तर गरेका २६ वर्षीय सान्तमले थाले ४० करोड लगानीमा पर्यटन व्यवसाय

रुपन्देही । पर्यटन व्यवसायमा जताततै निरासा छाइरहेका बेला विदेशमा स्नातोकोत्तर गरेका बुटवलका २६ वर्षीय सान्तम थैवले ४० करोड लगानी गरेर पर्यटन क्षेत्रमा प्रवेश गरेका छन् ।

अरबौं लगानी भएका थुप्रै पर्यटन व्यवसाय र उद्योगधन्दा बिक्रीमा रहेको वा कतिपय व्यवसाय बन्द हुँदै गरेको सूचना आइरहेको समयमा थैवले यति धेरै लगानी गरेर होटल द क्राउन इन संचालनमा ल्याएका हुन् । इलेक्ट्रिक व्यवसायमा सफल उनका बुवा अनन्त थैवको आग्रहमा सान्तमले विदेशमा पढेको शिक्षालाई यहाँ सदुपयोग गर्न पर्यटन उद्योगमा प्रवेश गरेको बताउँछन् ।

थाइल्यान्डमा ब्यवस्थापन बिषयमा एमए गरेका गरेका सान्तमले सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डस्थित तिलोत्तमा नगरपालिका वडा न २ जानकीनगरमा ४० करोड लगानीमा फरक विशेषतासहितको होटल शुरु गरेपछि यो क्षेत्रमा बढेको निराशा केही कमी हुने अपेक्षा गरिएको छ ।

आफ्नो देशमा केही हुँदैन, सबै खत्तम भयो भन्ने निराशाजनक कुरा गर्न छाडेर मुलुकको विषम परिस्थिति केही वर्षमा पक्कै राम्रो हुन्छ भन्ने सन्देश युवापिँढीले दिनुपर्ने उनको भनाइ छ । ‘मैले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने विश्वास र आशाका साथ लगानी गरेको हुँ, नेपालमा पर्यटन र हस्पिटालिटीमा राम्रो सम्भावना छ आत्तिनु हुँदैन, हामीले गुणस्तरीय सेवालाई सकेसम्म कम मुनाफामा सेवा दिने सोंच राख्यो भने व्यवसाय सफल हुन्छ, एकैपटक कमाउन खोजेर राम्रो सन्देश गएको छैन’ उनले भने ।

उनले पूर्णत बिजनेस योजनासहित होटेल द क्राउन इन सञ्चालनमा ल्याएर सबैलाई उदाहरणीय बिजनेश गर्ने जनाएका छन् । ‘म विदेशमा पढेँ, तर जन्मेको माटोमा केही गर्नुपर्छ भनेर नेपाल फर्केर आएको हुँ । मलाई उतै बस्न नपुग्ने केही थिएन, तर आफ्नो देशमा केही हुँदैन, सबै खत्तम भयो भन्ने निराशाजनक कुरा गर्न छाडेर नेपाल आमाको ऋण तिर्नुपर्छ भन्ने अठोट लिएर आएको हुँ’सान्तमले भने ‘नेपाली दाजुभाइ दिदीबहिनी र विशेषगरी युवाहरूलाई नेपालमै बसेर अवसर खोज्न मेरो अनुरोध छु, मेरो यो अभियानले नयाँ पिँढीलाई केही सन्देश पक्कै दिनेछ ।’

होटलमा पाहुनाका लागि थ्री बी अन्तर्गत बेस्ट बेड, बेस्ट बाथ र बेस्ट ब्रोडब्याउण्ड अर्थात इन्टरनेट तथा श्री एस अन्तर्गत वेस्ट सर्भिस वेस्ट सेक्युरिटी र वेस्ट सेफ्टीलाई उच्च प्राथमिकता दिइएको उनले बताए ।

होटलमा सय जना क्षमताको फाइन डाइनिङ बार र ६० जना क्षमाताको रुफ टप बार तथा ३५ जना क्षमताको बिजनेस मिटिङ हल र पर्याप्त पार्किङ सुविधा रहेको उनले बताए । जानकीनगरमा रहेको २ कठ्ठा क्षेत्रफलमा बनेको द क्राउन ईनको ६ तले भवनमा सेमिस्वीट, डिलक्स र सुपर डिलक्स गरी तीन क्याटेगोरीका ४० रुम रहेका छन् । होटलमा ४ हजारदेखि माथिका दरका स्टार लेवलका रुमहरु छन् । होटलमा ५० जनाले रोजगारी प्राप्त गरेका छन् ।

‘अरु होटेलभन्दा हाम्रो होटेलमा केही नौलोपन र विशेषताहरु छन्, यो पूर्णत बिजनेस होटेल हो, सबै रुमहरुमा पाँचतारे होटेलको स्टाण्डर्ड मेन्टेन गरेका छौं, प्रत्येक रुमका लागि अलग अलग इन्टरनेट राउटर जडान गरेका छौं किनकी अहिलेको दुनियामा मान्छेहरु बरु भोकै बस्न सक्छन् तर गुणस्तरीय इन्टरनेट विना चल्नै सक्दैनन् भन्ने हामीले बुझेका छौं’ सान्तमले भने ।

स्थानीयदेखि राष्ट्रिय र वहुराष्ट्रिय कम्पनीका व्यवसायी, उद्योगी, कर्पोरेट सेक्टर, बैंकर तथा आन्तरिक र वाह्य पर्यटक सबैका लागि उचित दरमा उच्च गुणस्तरको सुविधासहित बास बस्ने होटलका रुपमा लैजाने लक्ष्य रहेको होटलका अध्यक्ष अनन्त थैव बताउँछन् ।

‘धेरै व्यवसायीले एकैपटक कमाउन खोजेर समस्या भएको हो, हामी ठेकभन्दा खेप भन्ने सिद्धान्तलाई अगाडि सारेका छौं, पाहुनालाई अन्यत्रभन्दा गुणस्तरीय र फरक अनुभूतिले सन्तुष्ट बनाउने उद्देश्य राखेर जाने हो’ उनले भने–‘हाम्रो पुर्खाले पानी खुवाएर पूण्य कमाएका थिएन तर अहिले १२ रुपैयाको पानीलाई १ सय लिएर समस्या भएको छ, पानी बेचेर पाप बोक्न चाहन्नौं ।’

होटेलको प्रत्येक रुमबाट बुटवल र तिलोत्तमादेखि भैरहवासम्मको मनोरम दृश्य देख्न सकिन्छ । होटल ब्यवस्थापनका अनुसार प्रत्येक रुममा फायर फाइटिङ् प्रविधि तथा प्रत्येक फ्लोरमा फायर एकजीट प्रविधि रहेकोले सुरक्षामा ढुक्क भएर बस्न सकिन्छ ।

होटेलमा विवाह पार्टी ठूला गोष्ठी केही नहुने भएकाले बाह्रै महिना डिस्टर्बमुक्त र शान्त वातावरण रहने सान्तमले बताए । सबै रुममा साउण्ड पुफ प्रविधि राखिएकाले हाइवेतर्फका रुममा पनि गाडीको कुनै आवाज सुनिँदैन । होटलमा भेज र ननभेज खानाका परिकारका लागि अलग अलग कटिङ स्पट र किचन बनाइएको छ जसले गर्दा साहकारी र मांशाहारी खानेहरु ढुक्कले आफ्नो रोजाईको खाना खान सक्नेछन् । यस्तै मुस्लिम समुदायलाई लक्षित गरेर हलाल खानाको पनि व्यवस्था गरेको थैवको भनाइ छ ।

गएको माघदेखि सफट ओपनिङ भएको होटलको ग्राण्ड ओपनिङ भने २०८१ को पहिलो दिन अर्थात बैशाख १ बाट हुने थैवको भनाइ छ । थैवले होटलमा गरिएको लगानीअनुसार प्रतिफल पाउने ढुक्क रहेको बताउँछन् । चेनमा जान खोजेको र अन्य ठाउँमा पनि सेवा संचालन गर्ने योजनामा रहेको उनको भनाइ छ ।

९,बैशाख.२०८१,आईतवार ०९:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्