आईपीएल : कप्तान हार्दिकले रोहितलाई अनादर गरेको आरोप, मैदानमै देखियो नोकझोक

काठमाडौं । आईपीएलको जारी संस्करणमा हिजो मुम्बई इन्डियन्सलाई गुजरात टाइटन्सले हराएको छ । तर, यो खेलमा मुम्बई इन्डियनका नयाँ कप्तान हार्दिक पाण्ड्याको कप्तानी र एटिच्यूडलाई लिएर थुप्रै प्रश्नहरू उठेका छन् ।

पाँच पटक मुम्बई इन्डियनलाई आईपीएलको उपाधि दिलाएका रोहित शर्मा, जो भारतीय राष्ट्रिय टीमका पनि कप्तान हुन्, लाई अपमानित तरिकाले हटाएर हार्दिक पाण्ड्यालाई कप्तान बनाएका थिए टिम मालिक मुकेश अम्बानीले । तर, पहिलो म्याचमा नै पाण्ड्याले निराश बनाए । उनले न गतिलो बलिङ गर्न सके, न ब्याटिङ, न कप्तानी । साथसाथै, पूर्व कप्तान रोहित शर्मालाई मैदानमा अनादर गरेको आरोप समेत लागेको छ ।

पाण्ड्याले टस जितेर पहिले बलिङ रोजेका थिए । र, आश्चर्यजनक रूपमा पहिलो ओभरमा आफैँ बलिङ गर्न आए र ११ रन खाए । दोस्रो ओभरमा लुक उडलाई बलिङ गराएका उनले तेस्रो ओभरमा फेरि आफैँलाई ल्याए । फेरि ९ रन खाए । तीन ओभरमा गुजरातले बिना विकेट क्षति २७ रन जोडेपछि चौथो ओभरमा जसप्रित बुमराहलाई ल्याउन बाध्य भए पाण्ड्या । बुमराहले सफलता पनि दिलाइहाले ।

पाण्ड्या त्यसपछि एकैपटक १५ ओभरमा बल लिएर आए । अहिले पनि कुनै चमत्कार गर्न सकेनन् । १० रन खर्चिए । यसरी म्याचमा उनले तीन ओभर बलिङ गरेर ३० रन खर्चिए भने कुनै विकेट लिन सकेनन् ।

बलिङमा चल्न नसकेका पाण्ड्यासँग ब्याटिङबाट टिमलाई जित दिलाउने अवसर थियो । उनी सातौँ नम्बरमा क्रिजमा आएका थिए, जतिबेला मुम्बईलाई जितका लागि ११ बलमा २१ रन चाहिएको थियो । हार्डहिटर पाण्ड्याका लागि सुहाउँदो सिनारियो हो यो । तर, उनले चार बलको मात्रै सामना गर्न सके । जसमा एक चौका र एक छक्कासहित १० रन बनाएर आउट भए । पाण्ड्या आउट हुँदा मुम्बइलाई ३ बलमा ९ रन चाहिएको थियो । तर दुई रन मात्र जोड्न सक्यो ।

यता, मुम्बई इन्डियन्सले फिल्डिङ गर्दा पूर्वकप्तान रोहितसँग उनको ट्यूनिङ नमिलेको स्पष्टै देखिन्थ्यो । उनी रोहितलाई अपमानजनक तरिकाले हातले ईशारा गर्दै फिल्डमा यता र उता सर्न अह्राइरहेका थिए । साथै, रोहितले दिएका सुझावहरू पनि उनले मानेनन् । एउटा दृश्यमा रोहितले पाण्ड्यालाई फिल्ड पोजिसनबारे सिकाउन खोजिरहेका हुन्छन् । तर, बीचमा इशान किसनले हस्तक्षेप गर्छन् र अर्को तरिकाले फिल्ड सेट गर्न भन्छन् । पाण्ड्याले रोहित होइन, इशानको सुझाव मान्छन् ।

अर्को दृश्यमा पाण्ड्याले रोहितले जसप्रित बुमराहसँझ झर्कोफर्को गर्दै हिँडेको पनि देखिएको छ । रोहित र बुमराहले पाण्ड्यालाई केही भन्न खोजिरहेका हुन्छन्, तर पाण्ड्या फन्किएर हिँड्छन् । यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले पाण्ड्याकै कारण मुम्बईले म्याच हारेको आरोपसमेत लगाइरहेका छन् ।

१२,चैत्र.२०८०,सोमबार ११:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्