सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने – विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताइन् । बैठकमा नेकपा(एमाले)की सांसद विद्या भट्टराईले दुई विश्वविद्यालयको उपकूलपति नियुक्ति प्रक्रिया रोकिएको भन्दै कसरी काम अगाडि बढिरहेको छ भनि मन्त्री श्रेष्ठसँग जवाफ माग गरेकी थिइन् ।

सांसद भट्टराईको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विश्वविद्यालयको उपकूलपति छनौटको मापदण्ड कडा भएको आवाज आएकाले प्रक्रिया रोकिएको जानकारी दिइन् । उनले आफू सहकूलपतिको हैसियतले सर्च कमिटीमा पनि भएको स्पष्ट पारिन् । उनले अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर प्रधानमन्त्रीलाई आग्रह गरिएको भन्दै सोही अनुरुप अगाडि बढ्ने र प्रक्रिया नरोकिने बताइन् ।

‘सुदूर र मध्यपश्चिम विश्वविद्यालयको मापदण्ड कडा भयो भनेर आवाज उठेकाले रोकिएको थियो । आज चिकित्सा शिक्षा आयोगको बिहान बालुवाटारमा बैठक थियो । त्यो दुईवटा विश्वविद्यालयको सर्च कमिटीमा म सहकुलपतिको हैसियतले छैन’, उनले भनिन्, ‘त्यसको नेतृत्व युजिसीको अध्यक्षले गर्दै हुनुहुन्छ । र प्रधानमन्त्रीज्युलाई अनुरोध गरेर विश्वविद्यालयको लिडबाट अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर कन्भिन्स् पनि गरिरहेका छौँ । त्यही अनुरुप हामी अगाडी बढ्छौँ । त्यसको लागि अब रोकिँदैन ।’

मन्त्री श्रेष्ठले नर्सिङ शिक्षामा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायहरुसँग बैठक गर्ने र आवश्यक कदम चाल्ने बताइन् ।

९,चैत्र.२०८०,शुक्रबार १७:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्