राष्ट्रिय मानव अधिकार आयोगले सहकारी पीडित बचतकर्ताहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सहकारी पीडित बचतकर्ताहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले अनसनरत कुशलव केसीको जीवन रक्षाको समेत माग गरेको हाे ।

सहकारी पीडित बचतकर्ताहरूले चैत १ गते काठमाडौँमा आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट घाइते भएका प्रदर्शनकारीको अवस्थाप्रति समेत आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सुन्धारामा भएको र्‍याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको अनुगमन गरेको जनाएको छ । प्रदर्शन गरेकै दिन साँझ करिब ७ बजेपश्चात् सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी लगायतका अन्य केही व्यक्तिहरूलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भनी आयोगमा ज्ञापनपत्रसमेत बुझाएका थिए । यस सम्बन्धमा आयोगमा उजुरी समेत दर्ता भएको जारी विज्ञप्तिमा उल्लेख छ । आयोगका सहसचिव टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘प्रहरीको कुटपिटबाट घाइते भएका अभियानका अध्यक्ष केसी चैत गतेदेखि अनसनमा रहेको र उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आयोगलाई जानकारी प्राप्त भएको छ। उनको जीवन रक्षाको माग गर्दछ ।’ पीडित बचतकर्ताहरूले हालसम्म ३०२ जना सहकारीका पीडितहरू अभियानमा जोडिन आएको आयोगको टोलीलाई बताएका छन् ।

‘शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधान प्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई पेस गरेको प्रतिवेदनको शीघ्र कार्यान्वयन गरी पीडित बचतकर्ताहरूको माग सम्बोधन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’  विज्ञप्तिमा भनिएको छ,‘ अनसनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादको माध्यमबाट सहकारी पीडितहरूको समस्याको समाधान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’

६,चैत्र.२०८०,मंगलवार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्