शेर्पा विद्यार्थी संघको अध्यक्षमा फुर्वा छिरिङ शेर्पाको उम्मेदवार घोषणा, यस्ता छन् एजेण्डा

काठमाडौं । शेर्पा विद्यार्थीहरुको छाता संगठन नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा फुर्वा छिरिङ शेर्पाले उम्मेदवार घोषणा गरेका छन् । हाल मूल आयोजक कमिटीका सचिव शेर्पाले १० बुँदे एजेण्डासहित मतदातासँग अध्यक्षका लागि सम्पर्कमा गएका हुन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका-१ चुचुरेका शेर्पाले आगामी चैत १० गते आयोजना हुने १४ औं महाधिवेशनबाट अध्यक्ष बन्ने योजनासहित उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

पकनाजोलस्थित पिपुल्स क्याम्पसमा स्नातकोत्तर गर्दै रहेका शेर्पा २०७९ चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट सचिवमा निर्वाचित भएका थिए ।

फुर्वाले आफ्नो कार्यकालमा १० जिल्लाबाट १० जना जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई १० कक्षासम्म निःशुल्क छात्रवृत्ति दिलाउने एजेण्डा अघि सारेका छन् ।

उनले शेर्पा विद्यार्थीलाई सिटी टुर गाइडलगायत आर्थिक उन्नतिका लागि सीपमूलक तालिम दिने र सोलुखुम्बुमा पहिलो बैठक राखेर जलवायु परिवर्तनविरुद्ध सगरमाथाको फेदीबाट शेर्पा समुदायको खबरदारी थाल्ने बताएका छन् ।

त्यस्तै शेर्पा विद्यार्थीलाई लोकसेवामार्फत सरकारी सेवामा प्रवेश बढाउन तयारी कक्षा निःशुल्क थाल्नेदेखि शेर्पा भाषामा पढाइ हुने पहिलो धापखर्क आधारभूत विद्यालय पुनः सञ्चालनमा ल्याउने एजेण्डासमेत अघि सारेका छन् ।

३०,फाल्गुन.२०८०,बुधबार १४:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्