रौतहटको बृन्दावन र माधोनारायण नगरपालिकामा अझै सुरू भएन मतगणना

रौतहट । मतदान सम्पन्न भएको दुई दिन बिते पनि रौतहटको बृन्दावन र माधोनारायण नगरपालिकामा मतगणना हुन सकेको छैन । आफू अनकूलका मानिस राख्ने विषयमा दलहरुबीच विवाद बढेपछि मतगणना ढिला भएको हो ।

बृन्दावन नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएपनि मतगणनाको विषयलाई लिएर दलहरुबीच विवाद बढेको छ ।

शुक्रबार राति सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भनिए पनि आफ्ना अनकुलका मानिसहरु राख्ने विषयमा विवाद बढेपछि ढिला भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले मतगणनामा बस्ने कर्मचारीको विषयमा विवाद बढेपछि ढिला भएको बताए । ‘दलहरुबीच सहमति हुनै सकेको छैन , ’ उनले भने, ‘चाडै सहमति गरेर मतदान सुरु गर्न अनुरोध गरेका छौं ।’

सुरुमा सहायक मतदान अधिकृत नागेन्द्र यादवलाई मतगणनामा राख्न नहुने एमाले र एकीकृत समाजवादी दलले अडान राखेपछि मतगणना प्रभावित भएको थियो । त्यसपछि यादव आफैं नबस्ने भनेर बाहिरिएका थिए । ‘म मतगणनामा बसे पनि नबसे पनि फरक पर्दैन, ’ उनले भने, ‘दलहरुकै कारण मतगणना ढिलो भइरहेको छ ।’

माधवनारायण नगरपालिकामा पनि दलहरुबीच मतगणनामा राख्ने प्रतिनिधि बारे विवाद बढेपछि ढिला भएको हो ।

पुन: मतदानको तयारी

मतदानका बेला विभिन्न बाहना बनाइ झडपपछि मतपेटिका लुट्ने, फुटाउने र आगजनी जस्ता हर्कत गरेपछि रद्द भएको विभिन्न पालिकाहरुको निर्वाचन पुनः गराउने तयारी थालिएको छ । स्थानीय प्रशासनले निर्वाचन आयोगसित मिति तय गरेर निर्णय गर्ने जनाएको छ ।

जिल्लाको ६ वटा नगरपालिकाको ११ मतदान स्थलको २४ केन्द्रमा मतदान रद्द भएको थियो । गढीमाई नगरपालिकाको वडा नम्बर ३ र ६ मा मतदानकै बेला दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झडपका क्रममा १५ जना घाइते भए । घट्ना पछि मतदान स्थगित भएको थियो ।

पुनः मतदान गराउन सर्वपक्षिय सहमति जुटाउने प्रयास गरेपनि सफल नभए पछि रद्द गरेको हो । यमुनामाई गाउँपालिका-२ स्थित भेडियाही मतदान केन्द्रमा शुक्रबार मतदानकै क्रममा मतपेटिका लुटेर लगे पछि रद्द भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । ‘रद्द भएका मतदान केन्द्रहरूमा पुनः मतदानका लागि सुरक्षाको सबै तयारी गरेका छौं, ’ उनले भने, ‘अब कुनै हालतमा दायाँबायाँ हुन दिदैनौं । निर्वाचन आयोग सित समन्वय गरी मिति तय गर्छौ ।’

आयोगले मतपत्र लगायतका कारण मिति तय नगर्न अनुरोध गरेको थियो । जिल्लास्थित सुरक्षा समितिले आउँदो जेठ ३ गते नै मतदान गराउने तयारी थालेको छ । मतदान चलिरहेको बेला मतदाताको विषयलाई लिएर विवाद बढेपछि बौद्धिमाई नरपालिका ३ को मतदान केन्द्र पनि रद्द भएको थियो ।

फतुवा विजयपुर नगरपालिकामा २ मतदान केन्द्र, यमुनामाई नगरपालिकाको वडा नम्बर १ र २ मा पुन: मतदान गरिन लागेको निर्वाचनको कार्यालयले जनायो । देवाही गोनाही नगरपालिकाको १ र गरुडा नगरपालिकाको १ मतदान केन्द्र लगायतमा रद्द भएको स्थानमा एकै दिन पुनः मतदान गर्ने प्रजिअ शाहीले सुनाए ।

फितलो सुरक्षा व्यवस्था र म्यादी प्रहरीको मात्र भरपर्दा जिल्लाका धेरै मतदान केन्द्रमा विवाद र झडप साम्य पार्न सुरक्षाकर्मी चुकेको भन्दै चौतर्फि आलोचना भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुनः मतदान गराउन लागिएको स्थलमा प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा ५० जनाको सुरक्षादस्ता तैनाथ गरिने छ । त्यस्तै सशस्त्र प्रहरी र नेपाली सेना पनि बुथमा खटिन लागेको छ ।

१,जेष्ठ.२०७९,आईतवार ०९:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्