जसपा विभाजन आरोपबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्- यसमा मेरो भूमिका छैन

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनमा आफ्नो भूमिका नभएको बताएका छन्।

सिंहदरबारमा मंगलबार दिउँसो सभामुखले राखेको बैठकपछि सेतोपाटीको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जसपा विभाजनमा आफ्नो भूमिका नरहेको बताएका हुन्।

जसपा विभाजनमा तपाईंमाथि आरोप लागेको छ नि! भन्ने प्रश्नमा जवाफ दिएका प्रधानमन्त्री दाहालले भने, ‘‘आरोप लगाउन त अरू कसलाई देख्छन् र मान्छेहरूले। तर यसमा मेरो भूमिका छैन।’

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टी नेपाल आइतबार विभाजन भएको थियो। अशोक राई नेतृत्वमा जनता समाजवादी सोमबार निर्वाचन आयोगमा दर्ता पनि भइसकेको छ।

यो विभाजनमा प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको समर्थन रहेको आरोप लागेको थियो। त्यही सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री दाहालले यसमा आफ्नो कुनै भूमिका नरहेको प्रतिक्रिया दिएका हुन्।

२५,बैशाख.२०८१,मंगलवार १४:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्