करोडौँको बिल खरिद गरेर नियम विपरीत कर्जा सापट देखाएपछि इन्भेष्टमेन्ट मेगा बैंक कारबाहीमा

काठमाडौं । करोडौँको विल खरिद गरी नियम विपरीत कर्जा सापटमा देखाएपछि नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको छ ।

कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिसरी नोट जारी गरी बेनिफिसियरीबाट बैंकले ४१ करोड ३६ लाख बराबरको बिल खरिद गरी कर्जा सापटमा देखाएको छ ।

सो प्रतितपत्रको परिपक्व हुने समय पनि बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत मसान्तसम्म नियम विपरीत एभरग्रीन गरी असल कर्जाकै रूपमा देखाएको पाइएको छ ।

यस्तै इन्भेष्टमेन्ट मेगाले आधार दर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्व बापतको खर्चलाई समेत समावेश गरी आधार दर गणना गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ बमोजिम पूँजी कोष गणना गर्दा केही कर्जाहरुको जोखिमभारित सम्पत्तिलाई कम देखाइ पूँजी कोष गणना गरेको देखिन्छ ।

यसरी निर्देशन र नियम विपरीत काम गरेको इन्भेष्टमेन्ट मेगाका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई यस्तो नगर्न नगराउन राष्ट्र बैंकले सचेत गराएको छ ।

२४,बैशाख.२०८१,सोमबार १२:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्