सातौं राष्ट्रिय आईसीटी दिवस : यस्ताे छ सूचना तथा सञ्चार क्षेत्रमा नेपालकाे इतिहास

काठमाडौं । आजको संसारलाई सूचनाको युग भनिन्छ । सञ्चार र सूचनाको विकास यति भयो कि मानिसको अभिन्न पाटो मात्रै नभएर संसारमा भएका आश्चर्यजनक रुपान्तरण पनि यसैका कारण सम्भव भएको छ ।

यही सूचना तथा सञ्चारसँग सम्बन्धित सातौं राष्ट्रिय दिवस आज नेपालभर मनाइँदै छ । नेपाल सरकारले २०७४ साल वैशाख १९ गते गरेको निर्णयबाट नेपालभर मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार दिवस मनाउन सुरु गरिएको हो ।

त्यसबेलाको मन्त्रिपरिषद्को निर्णयअघि सूचना तथा सञ्चार दिवसलाई कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान) महासंघले मनाउँदै आएको थियो ।

२०४९ (सन् १९९२) मा स्थापना भएको कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान) महासंघले सन् २०११ (२०६८) सालदेखि औपाचारिक रुपमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन सुरु गरेको हो ।

नेपालमा पहिलो कम्प्युटर मे महिनामा आएकोले मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसका रुपमा मनाइदै आएको क्यान महासंघका अध्यक्ष रञ्जित कुमार पोद्दार बताउँछन् । उनका अनुसार क्यान महासंघले सिंहदरबारमा पहिलो कम्प्युटर भित्रिएको मे महिनामा भएकोले मे २ तारिखलाई नै नेपालको ‘आईसीटी डे’ का रुपमा मनाउने निर्णय गरिएको हो ।

क्यान महासंघका अध्यक्ष पोद्दार भन्छन्, ‘सन् २०११ देखि क्यानले आईसीटी दिवस मनाउन सुरु गरेको थियो । पछि आईसीटी दिवस नेपाल सरकारले पनि राष्ट्रिय रुपमा मनाउनेपर्ने महांघले लबिङ गर्यो । महासंघको आग्रह गरेपछि २०७४ वैशाख १९ गते सरकारको मन्त्रिपरिषद्ले राष्ट्रिय रुपमा मनाउने घोषण गर्यो । त्यसपछि राष्ट्रिय रुपमा सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन सुरु गरिएको हो ।’

२०२८ सालको जनणनाका लागि ‘आईबीएम-१४०१’ नामक पहिलो कम्प्युटर नेपाल भित्रिएको थियो । हामीले कम्प्युटरको पाँच पुस्ता अर्थात जेनेरेशन पढ्दा सुनेको दोस्रो पुस्ताको कम्प्युटर थियो ।

उक्त आईबीएम कम्प्युटरलाई लिजमा ल्याइएको र पछि २०३२ सालतिर नेपालमै राख्ने निर्णय गरिएको भन्ने गरिन्छ । उक्त कम्प्युटरको प्रवेशलाई नै आधार मानेर मे २ तारिखका दिन आईसीटी डेका रुपमा मनाउन सुरु गरिएको हो । कम्प्युटरको प्रवेशलाई हेर्दा नेपालको सूचना तथा सञ्चार प्रविधिको इतिहास करिब ५३ वर्षको रहेको छ ।

दूरसञ्चारको एक शताब्दी लामो इतिहास

दूरसञ्चार क्षेत्रको सुरुवातलाई हेर्दा करिब १०८ वर्षको इतिहास रहेको पाइन्छ । नेपालमा दूरसञ्चार क्षेत्रको सुरुवात वि.सं. १९७३ सालदेखि भएको हो ।

तर, औपचारिक रुपमा टेलिकमको सेवाको सुरुवात ‘मोहन आकाशवाणी’ भएपछि वि.सं. २००५ देखि भएको हो । वि.सं. २०१२ मा नोपलको पहिलो पञ्चवर्षीय योजनामा दूरसञ्चार विभागको अवधारण उल्लेख गरिएको थियो । जसलाई २०१६ मा स्थापना समेत गरियो ।

वि.सं. २०२६ मा नेपालको तेस्रो पञ्चवर्षीय योजनामार्फत दूरसञ्चार विभागललाई दूरसञ्चार वोर्ड बनाइयो । २०२८ सालमा संचार संस्थान ऐन लागू भएपछि औपचारिक रुपमा नेपाल दूरसञ्चार निगमका रुपमा स्थापित भएको थियो । यसरी नियोग हुँदै वि.स २०६१ सालमा नेपाल टेलिकम कम्पनी प्रालिको रुपमा हुँदै दूरसञ्चार क्षेत्रको विकास भएको हो ।

करिब १७३ वर्ष लामो नेपालको सञ्चार क्षेत्रको इतिहास

नेपाल सरकारले राष्ट्रिय रुपमा सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन लागेको सात वर्ष मात्रै भएको छ । त्यसअघि क्यान महासंघले यसलाई मनाउन लागेको करिब १३ वर्ष पुगेको छ ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको इतिहास करिब १७३ पुरानो रहेको पाइन्छ । तर, अहिले हामीले सातौं राष्ट्रिय सूचना तथा प्रविधि दिवस मनाइरहेका छौं । यस्तो किन र कसरी भयो भन्दा नेपालमा प्रविधिको विकास भएको धेरै लामो समय भएको छैन । तर, प्रविधिसँग जोडिएका क्षेत्रहरुको विकास र सुरुवात शताब्दी पहिलेबाटै भएको थियो ।

वि.सं. २०७४ सालपछि मात्रै सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन सुरु गरियो किनभने त्यसअधि सूचना तथा सञ्चार क्षेत्र सबै अलग अलग थिए । दूरसञ्चार क्षेत्रमा सूचनलाई समेटिएको थियो । नेपालमा कम्प्युटरको प्रवेश २०२८ सालमा भएको थियो । त्यअघि वि.सं. १९७३ बाट दूरसञ्चारको कामको सुरुवात भएको थियो । यसमा सूचनालाई जोड्दा त्योभन्दा पुरानो इतिहास बन्न जान्छ ।

सूचना तथा सञ्चार क्षेत्रको सुरुवात वि.सं. १९०८ देखि भएको पत्रकारिताको इतिहासले देखाउँछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्कँदा गिद्दे छापाखाना अर्थात गिद्दे प्रेस ल्याएका थिए । गिद्दे प्रेस नै नेपालको छापाखानाको इतिहासको पहिलो प्रेस मानिन्छ ।

त्यसपछि १९५३ मा सुधासागर नामक पत्रिकाको सुरुवात र १९५८ सालमा गोरखापत्रको स्थापना हुँदै नेपाली सञ्चार माध्याको विकास भएको पाइन्छ । यसरी सबै क्षेत्रका एक एक पंक्तिहरुको सुरुवात भएको इतिहासलाई हेर्दा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको इतिहास करिब १७३ वर्ष पुरानो रहेको मान्न सकिन्छ ।

नेपालका अधिकांश सबै क्षेत्रका दिवसहरु मनाइँदै गर्दा प्रविधि क्षेत्रको दिवस मनाउने गरिएको थिएन् । यद्यपि क्यानले सन् २०११ बाटै सुरु गरेको थियो ।

२०,बैशाख.२०८१,बिहीबार १६:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्