लगानी सम्मेलनका स्टलमा विदेशी लगानीकर्ताको चासो कम

काठमाडौं । तेस्रो लगानी सम्मेलनमा राखिएको आयोजनाको स्टलमा विदेशी लगानीकर्ताको चासो कम देखिएको छ ।आइतबार पहिलो दिन ती स्टल भ्रमण गर्दा अधिकांश नेपालीले भ्रमण गरेको र एकदमै न्यून मात्रा विदेशी लगानीकर्ताले आयोजनाका बारेमा सोधपुछ गरिरहेका थिए । स्टलमा अधिकांश जलविद्युत आयोजना छन् । जलविद्युत आयोजनामा लगानीको अभाव भइरहेको बेला तेस्रो लगानी सम्मेलन मार्फत विदेशी लगानी भित्र्याउने आशा आयोजनाका प्रवर्द्धक तथा सञ्चालकमा देखिएको छ ।

४३९ मेगावाटको बेतन कर्णाली हाइड्रो इलेक्ट्रिसिटी आयोजनाका भूगर्भविद् नवीन कुमार आचार्य पनि सो आयोजनालाई विदेशी लगानी खोज्दै भिजिटरलाई आफ्नो आयोजनाको विषयमा जानकारी दिइरहेका छन् ।

पहिलो दिन खासै उत्साह देखिएको छैन । यस आयोजनामा ७० प्रतिशत ऋण लगानीको खोजी हुँदैछ । यो ७४ अर्ब लागतको आयोजना हो । यस आयोजनाको पीपीए (विद्युत् खरिद सम्झौता) बाँकी छ भने कनेक्सन एग्रिमेन्ट भइसक्यो ।

यसको घर जग्गा मुआव्जा वितरण तीन महिनापछि शुरु गरिने बताइएको छ । हालसम्म जग्गा र घरको २ अर्ब मुआब्जा तोकिएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी (आरविजिसिएल) अन्तर्गतको ४०० केभीको हाइतार शीतलपाटी प्रसारण लाइन र तमोर ढुंगेसाँघु २२० केभीइ प्रसारण लाइनले पनि विदेशी लगानी खोजिरहेको छ ।

विद्युत् उत्पादन गरेर मात्र हुँदैन सो बिजुली हिँड्ने बाटो पनि चाहिन्छ । ट्रान्समिसन लाइन मार्फत बिजुली प्रवाह हुन्छ । सरकारले भारतमा १० हजार मेगावाट वार्षिक निर्यात गर्ने लक्ष्य लिए पनि त्यसका लागि ट्रान्समिसन लाइनको अभाव रहेको आरविजिसिएलका प्रोजेक्ट म्यानेजर राज सिंह बताउँछन् ।

२२० केभीको तमोर ढुंगेसाँखु प्रसारण लाइन २८८ मिडियन डरले लागतको हो । हाइता शीतलपाटी ४०० केभीको प्रसारण लाइन ७५ मिलियन डलर लागतको हो । यी दुईले पनि ऋण लगानी खोजिरहेको छ । ७० प्रतिशत ऋण लगानी को अपेक्षा आयोजनाको छ ।

साढे तीन अर्ब लागतको काभ्रेको बेथानचोक नारायणथान दर्शनका लागि केवल कार प्रस्ताव गरिएको छ । सो क्षेत्रको निर्माणको लागि पनि स्वदेशी तथा विदेशी लगानीकर्ताको खोजी गर्दै सो आयोजना प्रदर्शनमा राखिएको छ ।

सो आयोजना २७ सय मिटर लम्बाइ भएको १० ओटा पोल र १९ वटा केवल कारको डिब्बा हुनेछ । बेथानचोक घोडा बाँधेमा बेस स्टेरशन हुनेछ । त्यहाँबाट नारायणथानसम्म पुग्नका लागि केबलकार प्रस्ताव गरिएको छ । सबै लगानी विदेशीले गर्न चाहेमा पनि दिइने होइन केही अंश मात्र गर्छौ भने पनि दिइने बेथानचोक वडा नं. ३ का वडाअध्यक्ष कुवेर ढकालले बताए । सो आयोजनाको फिजिबिलिटी अध्ययन भएको छ ।

अर्कोतर्फ १४ वटा टु पेजर आयोजना कृषिका रहेका छन् । हामीले स्टल राखेका मध्ये अधिकांश सँग विदेशी चासोको विषयमा बुझ्दा र बुझ्न आउने आगन्तुकको रजिष्ट्रेसन हेर्दा स्टलहरूका चासो ज्यादै न्यून पाएका छौ । दोस्रो दिनको अन्तिम समयमा आगन्तुक बढ्ने अपेक्षा गरिएको छ ।

१७,बैशाख.२०८१,सोमबार १३:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्