भारतीय जलविद्युत निगमले भन्यो, ‘२०३० सम्म नेपालमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्छौं’

काठमाडौ । काठमाडौ सतलज जलविद्युत निगमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर शुसील शर्माले सतलजले नेपालमा २००८ देखि नेपालमा लगानी सुरू गरेको बताए।

उनले ९०० मेगावाटका अरूण तेस्रो जलविद्युत विकासका लागि सम्झौता गरेर नेपालमा लगानी सुरू गरेको उल्लेख गर्दै अहिले करिब दुई हजार २०० मेगावाटका तीन जलविद्युत विकासको अवसर पाएको उल्लेख गरे।

हालका तीन आयोजना विकासको विभिन्न चरणमा छन्।

उनका अनुसार सतलजले अहिले नेपालको जलविद्युतमा तीन खर्ब ३० अर्ब रूपैयाँ लगानी गरिसकेको छ।

‘नेपालमा २०३० सम्म ५००० मेगावाटभन्दा धेरै जलविद्युत उत्पादन गर्ने प्रतिवद्धता जनाउन चाहान्छु,’ उनले भने।

नेपाल लगानी बोर्डले नेपालमा लगानीका लागि सहज वातावरण तय गरिरहेको बताउँदै उनले नेपाल लगानीमैत्री देश भएको उल्लेख गरे।

काम गर्ने सहज वातावरण हुँदा अहिले अरूण तेस्रो जलविद्युत आयोजनाको विकासमा सहज भइरहेको पनि उनले बताए।

‘मलाई अरूण तेस्रो जलविद्युत आयोजनाको प्रगति विवरण सुनाउँदा खुसी लागिरहेको छ। ७४ प्रतिशतभन्दा धेरै प्रगति भइसकेको छ। यो विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्डले खेलेको महत्त्वपूर्ण भूमिकाको एक उदाहरण हो,’ उनले भने, ‘तल्लो अरूणको डिपिआरको काम पनि ९० दिनमा सकेर रेकर्ड कायम गरेका छौं। यति समयमा भारतमा यो काम कहिल्यै भएको छैन।’

बोर्डले आयोजना निर्माण सामग्री आयात तथा विभिन्न सरोकार निकायवालासँग समन्वयमा सहजीकरण गरेका कारण आयोजना निर्माणमा सहज भइरहेको उनले बताए।

सतलजले नेपालको जलविद्युत, सोलार पावर प्लान्ट, वायु ऊर्जा उत्पादन गरिरहेको छ। नेपालमा ग्रिन हाइड्रोजनको राम्रो सम्भावना रहेको र यसमा पनि लगानी गर्ने उनले बताए।

१६,बैशाख.२०८१,आईतवार १२:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्