सांसद डा. शर्माले गरे बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग गरेका छन् ।

शर्माले बिहीबार हेपाली हाइटमा रहेको डा. भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै डा. शर्माले राज्यले गर्नुपर्ने काम डा. कोइरालाले आफैं गर्न लागेकाले सम्मानस्वरुप आफूले पनि सहयोग उपलब्ध गराएको बताए ।

डा. कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ ।

कियोचले राजधानी काठमाडौँमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि ७ वटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा. कोइरालाले जानकारी दिए ।

६,बैशाख.२०८१,बिहीबार १७:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्