१५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु विडम्बनाः प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु विडम्बनाको विषय भएको बताएका छन्।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिनाभित्र तीन पटक विश्वासको मत लिने कुरा विडम्बना र नेपालको आफ्नो विशेषता भएको पनि बताए।

उनले कोही एउटा शक्तिले आफू पूर्ण रूपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महसुस नगराउन कांग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे।

उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको समेत दाबी गरे।

उनले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गरे। उनले सरकारको पुनःगठन भइरहने बताए।

उनले भने, ‘राजनीतिक दलहरू अपासी समझदारीबाट जानेतिर भन्दा अस्वस्थ प्रतिस्पर्धामै जाने र त्यसको निम्ति विभिन्न किसिमका क्रियाकलाप गर्नेबाट हामी अहिले पनि मुक्त छैनौं। अब यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ। मैले जटिल परिस्थितिका बाबजुत प्रमुख शक्तिहरूको बीचमा समझदारी नै बनाएर मात्रै यो संविधान कार्यान्वयनलाई पनि राम्रोसँग गति दिन सकिन्छ, राजनीतिक स्थायित्व र विकासलाई पनि गति दिन सकिन्छ भन्ने नै हो। यहाँहरूले कसरी हेरिराख्नुभएको छ, मलाई थाहा छैन।’

उनले अगाडि भने, ‘हुनतः अहिले तेस्रो पटक विश्वासको मत लिएँ केही समयअघि। डेढ वर्ष पनि भएको छैन। १५ महिनाभित्र लिएँ। तीन पटक विश्वासको मत १५ महिनाभित्र लिने अवस्था सिर्जना हुन एउटा विडम्बना पनि भन्न सकिन्छ। अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ। मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रूपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महसुस नगरोस् भन्ने हो। दोस्रो समीकरण बनाउँदै गर्दा मैले राष्ट्रपति नेपाली कांग्रेसलाई दिऊँ भन्ने थियो। मानिसहरूले अस्थिरताको आरोप पनि लगाए। तर गहिरिएर विचार गर्दा र इमानदारिताका साथ कुरा राख्दा राष्ट्रिय शक्तिको वातावरण नबिग्रियोस् भन्ने थियो।’

४,बैशाख.२०८१,मंगलवार १६:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्