‘सिद्धार्थ भिलासा’ले पायो पाँचतारे स्तरको मान्यता, क्यासिनो सञ्चालनको तयारी

काठमाडौ । काठमाडौ सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासा’ले पाँचतारे होटल स्तरको मान्यता पाएको छ।

पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो।

लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐनअनुसार पाँचतारा स्तरको होटलमा स्तर वर्गीकरण गरी विभागले इजाजतपत्र दिएको हो।

करिब ५ बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरी ८५ वटा रूम रहेका छन्।

होटलमा साना ठूला गरी पाँचवटा कन्फ्रेरेन्स हल र पाँचवटै रेस्टुरेन्ट आउटलेट छन्। होटलमा एक हजार पाँच सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको छ। जुन नेपालकै ठूलो ब्याङ्क्वेट हल भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले बताए।

उनका अनुसार स्थापनाको छोटो समयमै ‘डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरी त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याइरहेको छ।

साथै लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरूबीच लोकप्रिय भइरहेको यो होटलले पाँचतारा स्तरको मान्यता पाएसँगै ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताए।

होटलमा जिम, ज्याकुजी, स्टिम, स्पालगायत वेल्नेस सुविधा उपलब्ध छन्। हाल दुई सय जनाले रोजगारी पाएका छन्।

छिट्टै क्यासिनो सञ्चालनमा ल्याउने र त्यसपछि पाँच सय जनालाई रोजगारी मिल्ने सिइओ न्यौपानेले बताए।

नेपालकै उत्कृष्ट क्यासिनो सञ्चालन गर्न सकिने गरी क्यासिनोको लागि संरचना समेत निर्माण भइसकेको छ।

यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भूमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए।

सिद्धार्थले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ।

अगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटल र रूपन्देहीको योगीकुटिमा ब्याङ्क्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ।

त्यस्तै आगामी वर्षभित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारेमा स्तरउन्नति गर्ने योजना अनुरूप काम भइरहेको न्यौपानेले जानकारी दिए।

१६,चैत्र.२०८०,शुक्रबार १६:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्