विपन्न महिलाहरूको मिटरब्याजलगायतका ऋण मिनाहा गर्ने गरी कानून र बजेट बन्दैछ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरूको मिटरब्याजलगायतका ऋण मिनाहा गरिदिने घोषणा गरेकी छन् ।

वडा स्तरबाट विपन्न महिलाहरूको पहिचान गरी उनीहरूको मिटरब्याजलगायतका ऋणहरू मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको मन्त्रीले जानकारी दिएकी हुन् ।

मन्त्री चौधरीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगेटको महिला मन्त्रालयको लागि बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताइन् ।

उनले भनिन्, ‘अति विपन्न महिलाहरूको लागि चाहीँ वडास्तरबाटै मिटरब्याजीलगायतका कुराहरु आउँछन् । ती ऋणहरु मिनाहा गरिदिने कुराहरु आउँछन् । राज्यले नै त्यस्ता कुराहरु गर्‍यो भने महिलाहरु अगाडि बढ्न सक्छन् भनेर मन्त्रालयबाट त्यो कार्यक्रम ल्याउँदैछौं भन्ने कुरा जानकारी गराउन चाहन्छु ।’

मन्त्री चौधरीले महिलाहरुको सशक्तिकरणका लागि बजेट बढाउन सम्बन्धित मन्त्रालयबीच छलफल भइरहेको बताइन् ।

१६,चैत्र.२०८०,शुक्रबार १४:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्