बिहीबार राति काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता

काठमाडौं । बिहीबार राति काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो ।

‘नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको छ, जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड छ,’ उनले अनलाइनखबरसँग भने । जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले सो जहाजका यात्रु लिएर उडेको प्रवक्ता झाले जानकारी दिए ।

आजै दिल्ली उडानको तयारी

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हाइड्रोलिकमा समस्या आएको जहाज बनिसकेको छ । यसलाई आजै दिल्ली उडानमा पठाउने तयारी छ । ‘अर्को जहाज तयारी अवस्थामा रहेको र जहाज तत्काल बनिसकेकाले कुनै पनि अन्तर्राष्ट्रिय सेड्युल भने फेर्नु परेन,’ उनले भने ।

१६,चैत्र.२०८०,शुक्रबार ११:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्