ट्रेनिङको क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक जना प्रहरीको मृत्यु, दुई घाइते

हेटौँडा । मोटरसाइकलको ठक्करबाट हेटौँडामा एक जना प्रहरीको मृत्यु भएको छ भने दुई जना प्रहरी सहित मोटरसाइकल चालक पनि घाइते भएका छन् ।

बुधवार बिहान हेटौँडा–नवलपुर सडक खण्ड अन्तर्गत थानाभर्याङ क्षेत्रमा फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरीको टोलीमाथि मोटरसाइकलले ठक्कर दिएको थियो ।

हेटौँडाबाट नवलपुर जाँदै गरेको ना ४ प २२२ नम्बरको मोटरसाइकल ठक्करबाट दौडिरहेका प्रहरी जवान डडेलधुरा अलिताल गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय विनोद एडीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका एडीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा थप दुई जना प्रहरी पनि घाइते भएका छन् भने मोटरसाइकल चालक पनि घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान नवराज सार्की र प्रहरी जवान विजय खत्री रहेका छन् । मृतक र घाइते तिनै जना बागमती प्रदेश प्रहरी

गणमा कार्यरत थिए । अर्का घाइते मोटरसाइकल चालक हेटौँडा ४ का ४१ वर्षीय गणेश लामालाई थप उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

१८,पुष.२०८०,बुधबार ०९:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्