बागमती प्रदेशको राजधानी नै अँध्यारोमा, अरु पालिकाकाे अवस्था झनै नाजुक

हेटौँडा । सरकारी स्वामित्वको कुलेखानी प्रथम, दोश्रो, तेश्रो र नीजि क्षेत्रको माण्डु हाईड्रो पावरसहित चार वटा विद्युत उत्पादन केन्द्र रहेको मकवानपुरका जनता अझै बत्ति मुनिको अँध्यारोमा बाच्न बाध्य छन् ।

त्यसो त बागमतीको १३ जिल्ला मध्ये उचित ठानिएर प्रदेशको राजधानी भएको हेटौँडाका जनताले पनि अझैसम्म विद्युत कुर्नु परेको छ भने मट्टितेल प्रयोग हुने टुकी बत्तीको सहारामा जीवन सञ्चालन गर्नुपरेको छ ।

चारवटा विद्युत उत्पादनगृह रहेको त्यसमाथि पनि प्रदेशको राजधानीका ५ प्रतिशत मानिसहरु विद्युतको पहुँचबाट विमुख छन् भन्दा सहजै विश्वास लाग्न नसक्छ तर वास्तविकता भने यहि रहेको तथ्याङ्कले देखाउँछ ।

हेटौँडा उपमहानगरका केही वडाका मानिसहरु विद्युतसहित खानेपानी, सडक तथा स्वास्थ्य उपचार केन्द्रको अभावमा अझैपनि जीवनयापन गर्न बाध्य रहेका छन् ।

हेटौँडा १५ का केही गाउँहरुबाट हेटौँडा उपमहानगरपालिकाको कार्यालयसम्म आइपुगेकाे छिमेकी जिल्ला बाराको सडक प्रयोग गर्नुपर्ने वाध्यात्मक व्यवस्था त छदै छ कतिपय वडाका जनताहरु अझै पनि खानेपानीको लागि खोल्छा, खोलामा जानुपर्ने अवस्था छ ।

१९ वटा वडा रहेको हेटौँडा उपमहानगरपालिकाको २ र १० मा मात्र करिब १०० प्रतिशत विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले दिएको तथ्याङ्क अनुसार २ र १० मा करिब १०० प्रतिशत विद्युत पुगेको देखिन्छ तर त्यस बाहेकका वडाहरुमा भने विद्युतको अवस्था १०० प्रतिशत छैन ।

सबैभन्दा कमजोर अवस्था भने हेटौँडा १७ को देखिन्छ । १७ मा करिब १८ प्रतिशत जनताले विद्युतको उपभोग गर्न पाएका छैनन् भने वडा नंबर १८ का १७ प्रतिशत जनता अझै अँध्यारोमा छन् । वडा नम्बर १५ मा करिब ९ प्रतिशत जनताहरु विद्युतबाट टाढा रहेको वितरण केन्द्रका इन्जिनियर प्रतिक श्रेष्ठले बताए । त्यसबाहेका अन्य सबै वडाहरुमा पूर्ण रुपमा विद्युत विस्तार भइनसकेको उनको भनाई छ ।

अन्य स्थानीय तहको अवस्था अझ नाजुक

हेटौँडा उपमहानगरपालिकासहित अन्य १० स्थानीय तह रहेको मकवानपुरमा विद्युतिकरणको अवस्था थप नाजुक देखिन्छ । प्रदेशको राजधानी समेत रहेको हेटौँडामा ९५ प्रतिशत विद्युतिकरण भएको देखिँदा जिल्लाको उत्तरपश्चिम क्षेत्रमा रहेको कैलाश गाउँपालिकामा हालसम्म २९ प्रतिशत नागरिकको घरमा मात्र विजुली बलेको छ ।

कैलाशको वडा नम्बर ३,४,७ र ८ मा त अहिलेसम्म विजुली पुगेकै छैन। पूर्वी मकवानपुरको बकैया र बागमती गाउँपालिकामा पनि अहिलेसम्म ५० प्रतिशत पनि विद्युत पुगेको छैन ।

पश्चिमको मनहरीमा भने ७२ प्रतिशत विद्युत पुग्दा राक्सीराङमा पनि ४१ प्रतिशत तलै विद्युतिकरण भएको देखिन्छ । उत्तरी भीमफेदी गाउँपालिकामा ९० प्रतिशत विद्युत पुगेको छ भने हेटौँडासँग जोडिएको मकवानपुरगढीमा ५८ प्रतिशत क्षेत्रमा मात्र विजुली बलेको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिका पालुङ वितरण केन्द्र अन्र्तगत पर्छ त ती स्थानीय तहका पनि हजारौं जनता अध्यारोमा बस्न वाध्य देखिएका छन् ।

२१,कार्तिक.२०८०,मंगलवार १२:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्