कस्तो बन्यो होला झ्वाँइखट्टेको तालमा दिपकहरुको खाँडादेवी मन्दिरको संरक्षण गर्ने योजना

दशकअघि दशैँमा खाँडादेवी जाने चाँजाे मिल्याे । रामेछाप लुभूका अनल खड्काले याे चाँजाे मिलाएका थिए । चाँजाेपाँजाेमा साथ दिने थिए, हाेटल व्यवसायी भिरपानीका हाेमबहादुर श्रेष्ठ र मीना श्रेष्ठ । खाँडादेवीकाे प्रवर्द्धनमा कसरी काम गर्न सकिन्छ भन्ने ध्येय श्रेष्ठद्वयकाे थियाे । त्यसैले हामी सञ्चारकर्मी त्यता जाने मेलाे बनेकाे थियाे ।

काठमाडाैँबाट खाँडादेवीकाे यात्रा तय भयाे, फुलपातीकाे अघिल्लाे दिन । एलएन घिमिरे, उमेश दाहाल, अनल खड्का, सुदीप काेइराला, माधवराज खरेल, हाेमबहादुर श्रेष्ठलगायत बाेकेकाे बाेलेराेले बीपी राजमार्गकाे बाटाे समात्याे । दुम्जाकाे बाेकेढिकुरमा उत्रिएपछि कमेरेघाटमा झरेर डुङ्गाकाे पर्खाइमा बस्याैँ । सुनकाेशीमा काठका डुङ्गा तार्न छाडिए, रबरका डुङ्गा रहेछन् । उहिले बिदेशीले मात्र चढेकाे देखेकाे हाे, सुनकाेसीकाे बिचैबिच सलल । र्याफ्टिङ भन्थे ।
सुनकाेशी सङ्लिएकाे थिएन । ठूलै थियाे । किनारमा काेशीकाे छालकाे आवाज सुन्दै डरलाग्दाे थियाे । काेथपेतिरबाट डुङ्गा ल्याए माझी दाइले । डुङ्गा चढ्न तँछाडमछाड भयाे । दशैँमा घर फर्केकाहरू डुङ्गाकाे पर्खाईमा टन्नै थिए । डुङ्गा ओभरलाेडजस्ताे लाग्याे । हामी अर्काे खेप पर्खेर पारी तर्याैँ । पारी पनि सानाेतिनाे बजार रहेछ । चनाचिया च्यापेर अघि बढ्याैँ । निलाे मिनिट्रक हामीलाई पर्खिरहेकाे थियाे ।

काेथपे । युगिनदेखि सुनकाेशीकाे साक्षी बनेर बसेकाे माझी बस्ती । झुरूप्प मिलेका खरका छाना । एकदुई जस्ताका छाना समेत देखिन्छन् । आन्चलिक उपन्यासकार शंकर काेइरालाले यहि बस्तीकाे कथा ‘खैरेनीघाट’ उपन्यासमा गज्जबले उतारेका छन् । याे उपन्यास कतिपटक पढियाे, अहिले भन्न सक्दिन । आफ्नै गाउँको सात साल सेराेफेराेकाे कथा छ । त्यसैले धेरैपटक पढियाे ।

काेथपे, दुम्जाकाे आँखाले मात्रै हेरेकाे हाे । सुनकाेशी किनारबाटै पहिलाे पटक हेरे । गाडीकाे पछाडि उभिएका थियाैँ । कच्ची बाटाे । यात्रा सहजचाहिँ थिएन तर रमाइलाे थियाे । अझ गज्जबचाहिँ के थियाे भने, काेथपेलाई रामेछापकाे एङ्गलले हेर्न रमाइलाे थियाे । सधैँ देखेकाे सुख्खा चापाडी रसिलाे थियाे । रामेछापकाे भ्यूबाट दुम्जा, सुनकाेशी, गजुलीदह बजार हेर्न मज्जा आइरहेकाे थियाे ।
दुम्जाबाट देखेकाे रामेछापकाे सुख्खा टार र बस्ती यति रमाइलो थियाे कि, कसरी वर्णन गराैँ । त्यसैले भनिन्छ नि, देखेकाे सबै सत्य हुँदैन । भाेगेकाे सत्यचाहिँ वास्तविकता हाे ।

गाेठपानी । धेरै सुनिएकाे गाउँ । कुशेश्वर विद्यापीठ माध्यमिक विद्यालय पानीपाेखरीमा पढ्दा थुप्रै सहपाठी साथी थिए, रामेछापका । काेहि गाेठपानीतिरका । काेही शिखरडाँडातिरका । काेही बेलघारी, राकाथुम, चापाडी, खनियापानी, डाँसेतिरका । गाउँठाउँ चिन्दै अघि बढियाे । धूलाेले उधूम गरिरहेकाे थियाे ।
रमाइला गाउँठाउँ कटेर खाँडादेवी पुगियाे । खाँडादेवी मन्दिरमाथि एउटा गढीजस्ताे किल्ला देखियाे । पर्खाल लगाएर उठाइएकाे । सायद याे ठाउँ कुनै समय सैनिक किल्लाकाे रूपमा थियाे । त्यहाँ मन्दिरमा चढाइएका घण्ट र त्रिशुल प्रसस्त थिए । यसकाे संरक्षण कसरी सम्भव भयाे हाेला ? यस्तै प्रश्न उठे । खाँडादेवी मन्दिर प्रख्यात र शक्तिशाली शक्तिपीठकाे रूपमा रहेकाले सायद यहाँका बस्तु चाेर्न डराएका कारण घण्ट र त्रिशुलका थुप्रा रहेकाे हाे ।
घुमघामपछि ओरालाे लागेर बास बस्न पुग्याैँ । चुल्ठेपानी । रमाइलाे ठाउँ । चिसाे बढ्दै गयाे । थकाइ पनि उस्तै थियाे । उमेश दाइले चुस्स लगाउने कुरा गर्नु भाे । झ्वाँइखट्टे तयार भाे । हामीलाई आतिथ्यता प्रदान गर्ने दाइ पनि मस्तै रहेछन् । भारतीय लाहुरे ।
रमरम हुन थालेपछि अनलले आँगनतिर बाेलाए ।
‘ए दाइ मादल छैन ?’
‘हजुर ! म ल्याइहाल्छु नि !’

खरि झरेकाे मादलकाे ताल मधुराे भए पनि नाचकाे चालढाल चर्काे थियाे । एलएनजीकाे अग्लाे कदकाे नाच कम्ती राेचक थिएन । उमेश दाइ नाचेकाे पहिलाेपटक देखेकाे हाे । माधवराज यति नाचेकी आँगनमा पुर्लुक्क लडेर हातकाे बूढी अम्ला परक्क‌ पारे । तर पनि उठेर नाचिरहेकै थिए ।
रमाइलाे भाे त्याे साँझ ।

लाहुरे साहुजी, नबजे पनि बेसकरी मादल ठाेक्थे । कहिले खाेक्थे । कसैले बाेलायाे भने, नजिकै आएर गरम्म सलाम ठाेक्थे अनि भन्थे ‘तन्के हजुर’ । उनकाे त्याे सैनिक ठाँट र लाहुरे शान गज्जबकै थियाे । अहिले पनि अनल भाइ भेटेपछि चुल्ठेपानीकाे एक सर्काे सम्झना बल्झिन्छ अनि हाम्राे बिचमा हँस्याैली चल्छ, ‘तन्के हजुर’ ।

४,कार्तिक.२०८०,शनिबार ०७:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्