सम्पदाहरुको खोजी गरी मौलिक रुपमा संरक्षण गर्न नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रतिबद्धता

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सम्पदाहरुको खोजी गरी मौलिक रुपमा संरक्षण गर्ने बताएका छन् । सोमबार लुम्बिनी विकास कोषको परिषद बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरुले जोगाएको सम्पदाहरुलाई मौलिक रुपमा नै संरक्षण गनुपर्ने बताएका हुन् ।

मन्त्री किराँतीले विदेशीहरुको नक्कल गर्दा सम्पदा क्षेत्र पार्क र फाइभ स्टार होटल जस्ता बन्न थालेको भन्दै त्यसो हुन नदिने बताए । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका किराँतीले सम्पदाहरुलाई संस्कृति र प्रकृतीमैत्री रुपमा विकास गर्नुपर्ने बताए ।

पुर्खाले छाडेर गएका सम्पदाहरुको खोजी गरेर सम्पदालाई सम्पदाकै रुपमा विकास गर्ने नीति सरकारले लिने किराँतीले बताए । उनले गौतमबुद्धले विश्व शान्तिका लागि वैचारिक रुपमा क्षेप्यास्त्र संसारभर फैलाएको बताए । उनले लुम्बिनीलाई विश्वशान्तिको रुपमा विकास गर्ने गरी नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

उनले मन्त्रालय समालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताए । मन्त्री किराँतीले ६ महिनाको अनुभवले ऐन नियमहरुलाई समयअनुकल बनाउन पुर्नलेखन र संशोधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन कानून संघीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरी संशोधन गर्ने, मन्त्रालय मातहतका विभागहरुमा देखिनेगरी परिणाममुखी काम गर्ने र आधारभूत रुपमा भएका कामहरुको मसिनो गरी फलोअप गर्ने बताए ।

राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले बुद्धजन्मस्थल लुम्बिनीलाई सुगन्धको रुपमा विश्वसामू चिनाउनुपर्ने बताइन् । उनले लुम्बिनी पवित्र स्थलका रुपमा विकास गर्नका लागि सबैपक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिइन् । राज्यमन्त्री ठकुरीले गौतम बुद्धकै कारण नेपाल देशको परिचय विश्वभर भएकाले लुम्बिनीलाई कसैको स्वार्थमा राख्न नहुने बताइन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले कोषमा रहेका विभिन्न नीतिगत समस्याहरु हल भएको र गुरुयोजनाका कामहरु पूरा हुने चरणमा रहेको बताउँदै विगतलाई फर्केर हेर्दा लुम्बिनीमा गुरुयोजना निर्माणदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राम्रो काम गरेको बताए । उनले गुरुयोजनाको काम अबको ३ बर्षमा सम्पन्न हुने र त्यसका लागि ३ अर्ब बजेट आवश्यक पर्ने बताए ।

कोषाध्यक्ष सिद्धिचरण भट्टराईले स्वागत गर्दै परिषद बैठकलाई नीतिगत छलफलको थलोका रुपमा अगाडि बढाउने अभ्यास गरिएको बताए । परिषद बैठकले आर्थिक वर्ष ०८०/०८१ को नीति कार्यक्रम तथा बजेट र अन्य विभिन्न प्रस्तावमाथि छलफल गरि निर्णय गर्ने सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । परिषद बैठकमा लुम्बिनी विकास कोषका पदाधिकारी, कार्यकारिणी सदस्य, परिषद सदस्यहरुको सहभागिता रहेको छ ।

८,श्रावण.२०८०,सोमबार १७:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्