बजारतिर देखिएका असन्तुष्ट पोकाहरुले देश चलाउन सक्नैनन् : मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजकल देखिएका केही असन्तुष्ट पोकाहरुले देश चलाउन नसक्ने बताएका छन् ।

यो देशमा परिवर्तन के गरी आयो भन्ने ज्ञानसमेत नभएका केही भीडले देशको परिवर्तनलाई संस्थागत गर्न समस्या खडा गरेको भन्दै उनले नेपालको प्रमुख राजनीतिक दलको अथक मेहनतपश्चात जनताले बोल्ने, संविधान हेरेर व्याख्या गर्ने अवस्थाको सृजना भएको बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले देश समस्यामा परेको अवस्थामा यस्ताखाले असन्तुष्टका पोकाहरुबाट समाधान कहिल्यै हुन नसक्ने दाबी गरे ।

‘देश सिस्टममा चल्न दिनुपर्दछ तबमात्र विकासको लहर सृजना हुन्छ’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘असन्तोष पोखेरमात्र समस्याको समाधान हुँदैन ।’

उनले प्रतिष्ठानलाई सरकारले गौरवको योजनाको रुपमा राखेर काम अघि बढाएको भन्दै बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कतिपय राजनीतिक विषयहरुले कहिलेकाहीं समस्यामा पार्ने भन्दै त्यस्ताखाले समस्यालाई छलफलद्वारा समाधान गर्नुपर्ने मुख्यमन्त्री जम्कट्टेलको जोड थियो ।

प्रदेश सरकार निर्माणपश्चात बागमतीको १३ वटै जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्थामा व्यापक सुधार आएको बताउँदै उनले प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने बताए ।

संघीयतालाई सफल बनाउन यस्ताखाले गौरवको योजनामा प्रदेश सरकारले महत्वपूर्ण स्थान दिएको उनले बताए ।

१४,असार.२०८०,बिहीबार १५:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्