सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटले कोशी प्रदेशमा ठूला आयोजना समेटिएनन्

विराटनगर । सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटले कोशी प्रदेशलाई उपेक्षा गरेको देखिएको छ । बजेट वक्तव्यमा कोशी प्रदेशमा ठूला योजना नपरेको गुनासो आएको छ ।

औद्योगिक क्षेत्रको रूपमा रहेको विराटनगरको विकासका लागि आवश्यक पर्ने बजेट नआएको भन्दै उद्योगी व्यपारीहरुले गुनासो गरेका छन् ।

संघीय सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटमा कोशी प्रदेशमा केही जलविद्युत् र पर्यटनको क्षेत्रमा भने बजेट विनियोजन गरेका छन् ।

सरकारले ल्याएको बजेटमा मोरङको रंगेलीमा कृषि थोक बजार निर्माण गर्ने र धरानमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला निर्माण गर्ने उल्लेख छ ।

यस्तै कोशी जलाधार क्षेत्रमा सिमसार संरक्षण, पोखरी संरक्षण गरिने, इलाममा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिने, विराटनगरको एकीकृत जाँच चौकी (आइसीपी)मा गोदाम घर निर्माण गर्ने बजेटमा उल्लेख छ ।

बजेटमा ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने ग्रेड हिमालय ट्रेल निर्माण गर्ने, लारुम्बा मुन्धुम ट्रेल निर्माण र हलेंसी तुवाचुङ खुवालुङ समेटेर किरात सांस्कृतिक सर्किट निर्माण गर्ने उल्लेख छ ।

यस्तै हलेंसी–तुवाचुङ क्षेत्र खुल्ला सांस्कृतिक संग्रहालय बनाउने र हिमाली गुम्बा संरक्षण कार्यक्रम राखिएको छ ।

यस्तै पर्यटनको सम्भावना उच्च भएको कोशी पाथीभरा, हलेंसी, किराँतको उद्गम क्षेत्र तुवाचुङ, चतरा–बराहक्षेत्रलाई विकास र सौन्दर्यीकरण गरिने, विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय स्तरको बनाइने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

धनकुटामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने, धरानमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गरिने, सुनसरीको झुम्का र भोजपुर बजार, सङ्खुवासभाको चैनपुर, मोरङको टंकी सिनुवारी खानेपानी आयोजना सम्पन्न गर्ने विषय बजेटमा उल्लेख छ ।

यस्तै झापा दमकको ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्ने, विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम निर्माण कार्य अगाडि बढाउने, सुनसरीको इटहरी कभर्डहल निर्माण गर्ने विषय पनि बजेटमा उल्लेख छन् ।

बजेटमा काँकरभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति सुरु गरिने, मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथर खण्डको सडक निर्माण गरिने, मदन भण्डारी सडक अन्तर्गत इलाम सुनसरी खण्डको सडक निर्माण गरिने उल्लेख छ ।

कोशी करिडोरको लागि ८० करोड बजेट छुट्याइएको छ भने तमोर करिडोर निर्माणका लागि बजेट विनियोजन गरेको उल्लेख छ ।

यस्तै कटारी–घुर्मि सडक निर्माण गर्ने, तमोर करिडोर, ओलाङ्चुङ गोलासम्म सडक निर्माणको लागि बजेट विनियोजन गरिएको छ भने रानी–विराटनगर–धरान सडक पुनःनिर्माणको कामका लागि बजेट विनियोजन गरिएको उल्लेख छ ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बजेट मध्यमस्तरको भएको प्रतिक्रिया दिए । उनले कोशी प्रदेशका लागि भनेर बजेटले सम्बोधन नगरेको बताए । उनले भने,‘स्वदेशी उद्योगका बस्तुहरूको प्रवर्द्धन गर्न विराटनगरमा प्रदर्शनी स्थलको उद्योगी व्यवसायीहरूले माग गर्दै आएका थियौँ । तर, यसपालिको बजेटले पनि समेट्न सकेन ।’

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विराटनगरको रिङ्गरोड, विशेष आर्थिक क्षेत्र तथा प्रदर्शनी स्थलको बारेमा बजेट मौन रहेको बताए । उनले निर्यातको अनुदान रकम कम हुन्, ढुंगा गिट्टी निर्यात गर्न दिने नीति सकारात्मक नदेखिएको बताए । उनले बजेटको कसिलो कार्यान्वयनमा सफलता–असफलता निर्भर हुने पनि बताए ।

१६,जेष्ठ.२०८०,मंगलवार १२:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्