गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्न जाँदै गठबन्धन दल

पोखरा । गण्डकी प्रदेशमा गठबन्धन दलहरूले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले दिएको समय सीमा घर्किन लाग्दा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दलहरू दाबी गर्न जान लागेका हुन् ।

प्रदेश प्रमुखले सरकार गठनका लागि आज अपरान्ह ४ बजेसम्मको समयसीमा छ । दिउँसो २ बजे कांग्रेस-माओवादीको संसदीय दलको संयुक्त बैठक बस्दैछ । बैठकमा छलफलपछि सरकारमा दाबी पेस गर्ने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

गण्डकीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मुख्यमन्त्री दाबी गर्दै आएका थिए । शीर्ष नेताहरूबीच पहिलो चरणमा कांग्रेस र दोस्रो चरणमा माओवादीले नेतृत्व गर्ने गरी सहमति भएको भन्दै चुमान पछि हटेका हुन् ।

खगराज अधिकारी पदमुक्त भएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार संविधानको धारा १६८ उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसदको पनि साथ छ ।

१४,बैशाख.२०८०,बिहीबार १३:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्