कर्णाली र सुदूरपश्चिम प्रदेशको विकास गठबन्धन सरकारको प्राथमिकता : रक्षामन्त्री खड्का

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्र ऋणात्मक परिस्थितिमा पुगे पनि कर्णाली करिडोरको कामलाई अगाडि बढाइने बताएका छन् ।

सुर्खेत विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासे कामहरूको अनुगमन गरिने जानकारी दिए ।

भेरीगंगा, लेखबेशी र गुर्भाकोट नगरपालिकाको भूभागलाई जोडेर भेरी नदीको किनारमा व्यवस्थित, वैज्ञानिक र आकर्षक आधुनिक शहर निर्माण योजनाले साकार रुप लिएको उनले बताए ।

रक्षमन्त्री खड्काले भने, ‘भेरीगंगा उपत्यकाको नमुना शहरको पहिलो चरणको डीपीआर तयार भयो । केही कामहरु अगाडि बढेको छ ।’

उनले निर्वाचनमा जनताका माझ राखेका प्रतिबद्धता केन्द्रमा राखेर कर्णाली प्रदेशको पर्यटकीय, भौतिक विकास, भूगोलअनुसारको रोजगारी सिर्जना गर्ने विकास आयोजनालाई पालिका सँगै संघीय सरकारको बजेट जोडेर कर्णालीको विकास गर्ने प्रतिबद्धता जनाए ।

कर्णाली करिडोरलाई प्रदेशको लाइफलाइनको रुपमा अगाडि सारेको उनको भनाइ छ । ‘कर्णाली करिडोरको ४४ अर्बको डीपीआर तयार भएर अर्थ मन्त्रालयमा गएको छ । मसँगै भौतिक निर्माणमन्त्री प्रकाश ज्वाला र ऊर्जामन्त्री शक्ति बस्नेत हामी काममा जुटेका छौं’, उनले भने ।

खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेशको विकास गठबन्धन सरकारको प्राथमिकतामा रहेको बताए ।

हरेक दृष्टिकोणबाट पछि परेका यी प्रदेशको रूपान्तरण गर्न प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र माधव नेपालसँगै आफू सकारात्मक रहेको उनको भनाइ छ ।

८,बैशाख.२०८०,शुक्रबार १४:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्