काठमाडौंबासीको निःशुल्क उपचार गर्ने अस्पताल खोल्नेछु : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आफू विजयी भए महानगरवासीको निःशुल्क उपचार गर्ने अस्पताल खोल्ने बताएकी छिन् ।

असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनकी उम्मेदवार सिंहले महानगरवासीको स्वास्थ्य र शिक्षाको जिम्मा महानगरपालिकाले लिने बताइन् ।

‘मैले जितेमा महानगरवासीको निःशुल्क उपचार गर्न अस्पताल खोल्नेछु । ज्येष्ठ नागरिक, महिला र असहायलाई विशेष व्यवस्था गराउनेछु’, सिंहले भनिन् ।

उनले काठमाडौंका विद्यालयहरूको मुहार फेर्ने र महानगरवासीलाई गुणस्तरीय शिक्षाको प्रबन्ध गराउन प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

काठमाडौंको प्राचीन सभ्यता पनि जोगाउने र व्यावसायिक सम्भावनाको पनि विकास गर्ने योजना आफूसँग रहेको सिंहले बताइन् ।

‘काठमाडौंको आफ्नो सभ्यता, संस्कृति र भाषा छ । त्यसलाई पनि जोगाउने र व्यावसायिक सम्भावना बोकेका क्षेत्रलाई २४ सै घण्टा खुला राख्ने महानगर बनाउँछु’, सिंहले भनिन् ।

उनले काठमाडौंका ज्येष्ठ नागरिकका लागि सबै वडामा ज्येष्ठ नागरिक भवन, महिलाका लागि गृहिणी भत्ता र युवाहरूका लागि रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

२७,बैशाख.२०७९,मंगलवार १८:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्