गाउँपालिकाका सवारी चालक बने अध्यक्षका उम्मेदवार

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाकाे सवारी चालक वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाे लागि साेही गाउँपालिकाकाे अध्यक्ष उम्मेदवार भएका छन् ।

गाउँपालिकाकाे सवारी चलाउने राजन पाइजा साेही गाउँपालिका हाँक्ने मुख्य पद अध्यक्षका उम्मेदवार बनेका हुन् । उनलाई नेकपा एमालेले अध्यक्षकाे उम्मेदवार बनाएकाे हाे ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राजनकै बाबु मेहरसिंह पाइजा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक बाबुकाे ठाउँमा छाेरा राजनलाई एमालेले गाउँपालिका अध्यक्षकाे टिकट दिएकाे छ । विदेश जाने सपना बाेकेका राजन बुबा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँमै राेकिएका थिए । विदेश जान नपाएपछि राजनले बुबाकै सहयोगी बन्ने निधाे गरे ।

बाबु मेहरसिंह अध्यक्ष रहेकाले उनले बडिगाड गाउँपालिकाको सवारी चालकको काम पाए । सुरुका २ वर्ष तलबविनै गाउँपालिकाको सवारी चलाएका राजनले काेभिड १९ का क्रममा झन बढी खटिएर काम गरे । उनले कोराना सक्रंमित बिरामीको उपचार र व्यवस्थापन तथा शव व्यवस्थापनमा स्वास्थ्यकर्मीसँगै रहेर काम गरे । जुन कामकाे सबैतिरबाट प्रशंसा भयाे । कोरोना महामारीमा स्वास्थ्यकर्मीसँगै दिनरात खटिएर गरेको कामको प्रशंसास्वरुप गाउँपालिकाबाट सम्मानित पनि भएका थिए राजन ।

काेभिड १९ महामारी र सकंटापन्न स्थितिमा गाउँपालिकामा उनले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यही भूमिकाकाे मूल्यांकनस्वरुप नेकपा एमालेले उनलाई बाबु मेहरसिंहकाे ठाउँमा गाउँपालिकाकाे उम्मेदवार बनाएर थप जिम्मेवारी दिएकाे छ ।

पाइजाले राजनीति भने नेकपा माओवादीबाट सुरु गरेका थिए । एकता पूरा नहुँदै अदालतले एमाले र माओवादीलाई अलग गरेपछि उनी एमालेमै अडिए । अहिले त्यही एमालेबाट उनी स्थानीय तह निर्वाचनमा होमिएका छन् ।

आफूले तल्लो तहका नागरिकको सेवा गरेकैले अहिले गाउँपालिका अध्यक्षकाे टिकट पाएकाे उनकाे भनाइ छ । उनले तल्लाे तहका जनताकाे अवस्था परिवर्तनका लागि गाउँपालिका अध्यक्षको उम्मेदवार बनेको स्पष्ट पारे ।

पाइजा कराते खेलका अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् । उनी राजनीतिलाई समाज सेवाको रुपमा लिनुपर्नेमा जाेड दिन्छन् । आफूलाई राजनीति र समाज सेवामा अब्बल सावित गरेका उनले बडिगाड गाउँपालिकाका बासिन्दाकाे मन जित्ने विश्वास गरिएकाे छ ।

को हुन् पाइजा ?
राजन बागलुङको बडिगाड गाउँपालिका ५ मा सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन् । सानैदेखि अन्याय र अत्याचारविरुद्ध आवाज उठाउने स्वभावका उनी पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय छन् । कसैको दुःख र पीडा देख्न नसक्ने पाइजाले गाउँमा हुने हरेक आपतविपतमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन् ।

२०५८ सालमा कक्षा ९ मा पढ्दा नै कम्युनिष्ट आन्दोलनमा लागेका उनी सुरुमा माओवादीबाट राजनीति गर्थे । एमाले र माओवादी अलग भएपछि उनी एमालेमा रहेर सक्रिय राजनीति गरे । हाल उनी एमालेको जिल्ला सचिवालय सदस्य छन् । राजन राजनीतिलाई सेवाको रुपमा लिनुपर्नेमा स्पष्ट देखिन्छन् ।

सितेरियो करातेका ब्ल्याक बेल्ट राजनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकसमेत जितका छन् । उनले करातेमा एसियन कोचको लाइसेन्ससमेत प्राप्त गरेका छन् । बडिगाड गाउपालिका ५ खारमा उनले कराते खेलको प्रशिक्षण पनि दिइरहेका छन् । उनी बडिगाड डोजोका संस्थापक अध्यक्ष र खेलाडी तथा प्रशिक्षक संघ बागलुङको जिल्ला अध्यक्ष हुन् ।

१६,बैशाख.२०७९,शुक्रबार १६:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्