एउटा यस्तो सामुदायिक विद्यालय, जहाँ भर्ना हुन मन्त्रीको पावर लगाउँछन् अभिभावक

विराटनगर । देशका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भइरहेका बेला विराटनगरको एक विद्यालयमा भने विद्यार्थी भर्नाका लागि अभिभावकले प्रदेशका सांसददेखि मन्त्रीको पावर लगाउने गरेका छन् । यहाँको पोखरिया माध्यमिक विद्यालयमा विद्यार्थीको बढ्दो आकर्षणले भर्ना पाउन नै कठिन भएपछि अभिभावकले मन्त्रीको पावर लगाउन परेको हो ।

यतिसम्मकी विधार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना लिन परीक्षा उत्तीर्ण गर्नुपर्ने मापदण्ड बनाएको छ । विद्यालयमा आप्mना बालबच्चा भर्ना गराउन अभिभावकले फर्म लिनसमेत लाइन बस्ने गरेका छन् ।

अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएयता विद्यार्थी अभावमा कहिले पोखरिया माविले पछाडि फर्केर हेर्नु परेको छैन । नयाँ शैक्षिकसत्रको सुरुवातसँगै विद्यालयमा भर्ना भएर पढ्न चाहने विद्यार्थीको ओइरो लाग्ने गरेको छ ।

अभिभावकले ठूलै मान्छेको सोर्सफोर्स लगाउँदा पनि आफ्ना छोरा छोरीलाई पोखरियामा भर्ना गर्न सकेका छैनन् । नयाँ शैक्षिकसत्रका लागि विधार्थी भर्नाको आवेदन खुलेसँगै अभिभावक भर्ना लाइनमा बस्ने गरेका छन् ।

मोरङ पथरीकी अरुणा कार्कीले आफनो छोरा भर्नाका लागि आवेदन भराउन लाइनमा बसेकी थिइन् । स्थानीय एक निजि विद्यालयमा अध्ययनरत छोरालाई कक्षा ८ मा पढाउन उनले आवेदन फर्म लिन परेको बताइन् ।

‘सुनेको छु यहाँको शैक्षिक स्थिति निकै राम्रो छ अरे, अरुणाले भनिन्, ‘छोराको भविष्यका लागि मैले पनि यही विद्यालयमा पढाउने सोचअनुसार यहाँ आएको हुँ ।’ छोराले विद्यालयले लिने परीक्षा उत्तीर्ण गर्ला या नगर्ला भन्नेमा उनी चिन्तित छिन् ।

पोखरियामा अहिले १ देखि १२ कक्षासम्म पठनपाठन हुँदै आएको छ । जसमा २९३० विद्यार्थी अध्ययनरत छन् । पोखरियामा गएको शैक्षिक सत्रदेखि ९ र १० कक्षामा मात्र नेपाली र अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ ।

पोखरिया माविमा २०७० सालदेखि अंग्रेजी माध्यमबाट पहिलोपटक पठनपाठन सुरु गरिएको थियो ।

नेपाली माध्यमबाट हुने पठनपाठनप्रति विद्यार्थीमा रुचि घट्दै जाँदा प्रत्येक वर्ष विद्यार्थीले विद्यालय छाड्ने क्रम सुरु भएको थियो । विद्यार्थी रोक्ने अस्त्रका रूपमा पोखरीयाले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको हो ।

अहिले भर्नाका लागि कोटा निर्धारण गर्नुपर्ने स्थिति आएको विद्यालयले जनाएको छ । विद्यालयले यो शैक्षिकसत्रका लागि १ देखि ९ कक्षासम्मका लागि जम्मा ५ सय ८३ विधार्थीमात्र परीक्षा लिएर कोटा माध्यमबाट भर्ना गर्ने तयारी गरेको छ ।

गएको शुक्रबारदेखि भर्ना परीक्षाका लागि आवेदन खुल्ला गरेपछि मंगलबारसम्म २ हजार बढी विधार्थीहरुले आवेदन दिइसेका छन् । विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले आवेदन दिएकाहरुको वैशाख १६ र १७ गते परीक्षा लिने बताए ।

‘कोटा हामीसंग सिमिति छ’, भट्टराईले भने, ‘आवेदन दिने विधार्थीको संख्या निकै छ, राम्रो अंक ल्याउने विद्यार्थीमध्ये छानेर आगामी शैक्षिकसत्रको लागि विद्यार्थी भर्ना गर्ने योजना रहेको छ ।’ गएको शैक्षिकसत्रका ५ सयको कोटामा १८ सयको आवेदन परेकोमा यो वर्ष अझ बढ्ने प्रअ भट्टराईले बताए ।

भट्टराईका अनुसार पोखरिया मोरङका मात्रै होइन, धनकुटा, तेह्रथुम, सिराहा, सप्तरी, उदयपुर तथा खोटाङदेखि विद्यार्थी पढ्न आउने गरेका छन् ।

विद्यालयको व्यवस्थापन पक्ष सुधार गर्दै शिक्षण सिकाइमा प्रविधि स्मार्ट बोर्डबाट अध्यापन, आइसिटीको प्रयोग, शिक्षकलाई सूचनामैत्री वातावरण, प्रिमन्टेश्वरी स्कुललगायत सेवा थप गरिएको छ । पोखरिया स्कुलमा नर्सरी, केजी र १ कक्षासम्म स्मार्ट टिभीमार्फत् पठनपाठनको व्यवस्था गरिएको छ । त्यसमाथिका कक्षाका लागि स्मार्ट बोर्डमार्फत कक्षाकोठामा अध्यापन गराइँदै आएको छ ।

विद्यालयमा रहेका २८ वटा स्मार्ट बोर्डमा पाठ्यक्रमअनुसार पठनपाठन गरिँदै आएको आएको छ । विद्यालयले दुईवटा बस खरिद गरी विद्यार्थी ल्याउने, लैजाने गरेको छ ।

पोखरिया स्कुलमा बिहानी र दिउँसो गरी दुई सेसनमा पठनपाठन हुँदै आएको छ । विद्यालयले विधार्थी भर्नाबापत एक विद्यार्थीबाट वार्षिक १२ देखि १४ हजार रुपैयाँ लिने गरेको छ ।

७,बैशाख.२०७९,बुधबार ०८:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्