भट्टराई निजामती कर्मचारी युनियनकाे सचिवमा उठ्ने

नेपाली कांग्रेस निकट कर्मचारीहरूको साझा संस्था नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनबाट युनियनको केन्द्रीय नेतृत्वमा आउन उम्मेदवारी घोषणा हुने क्रम सुरु भएको छ ।

राजनीतिशास्त्रमा विद्यावारिधि गर्दै गरेका कर्मचारी युनियन अर्घाखाँचीका पूर्वअध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका पूर्वअध्यक्ष रहिसकेका प्रकाश भट्टराई केन्द्रीय सचिवमा उम्मेदवार बन्ने बताएका छन् ।

“मैले अझै यही पदमा उठ्ने भनेर निर्णय गरिसकेको छैन, देशभरका साथीहरूसँग सल्लाह गर्दैछु,” न्यूज काराखानासँग भट्टराईले भने, “केही दिनमा केन्द्रीय नेताहरूसँग समेत परामर्श गरी उम्मेदवारी घोषणा गर्नेछु । सम्भवत: मेरो उम्मेदवारी केन्द्रीय सचिवमा हुनेछ ।”

आफूले उम्मेदवारी घोषणा गरिनसकेको भए पनि मानसिकता बनाइसकेको भट्टराईले बताए । “मैले उम्मेदवारी घोषणा नै गरिसकेको त होइन तर मेरो उम्मेदवारी सचिवमै हुनेछ । केही दिनमै घोषणा हुनेछ,” भट्टराईले भने ।

कर्मचारी युनियन अर्घाखाँचीको अध्यक्ष हुँदा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई झण्डै दोब्बर मतले विजयी बनाएका भट्टराई कर्मचारी वृत्तमा निकै लोकप्रिय छन् । भट्टराई राजपत्र अनंकित कर्मचारी संरक्षण अभियान (नायब सुब्बा बचाउ अभियान) को नेतृत्व गर्दै माग स्थापित गराउन क्रियाशील रहँदै आएका छन्।

८, ९ र १० माघमा काठमाडौंमा हुने महाधिवेशनमा जिल्ला र विभागीय कार्यसमितिका अध्यक्ष र महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । कोभिडको संक्रमण तीव्र हुँदै गर्दा सरकारले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम नगर्न आग्रह गरेको भए पनि स्वास्थ्य मापदण्ड पूरा गरी तोकिएकै मितिमा महाधिवेशन गरिने युनियनले जनाएको छ ।

३०,पुष.२०७८,शुक्रबार ११:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्