भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्यामा फेरि ठूलो उछाल आएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या बिहीबार थपिएका संक्रमितको तुलनामा ६.७ प्रतिशत हो । त्यहाँ हाल कोरोनाको संक्रमण दर १४.७८ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

तर भारतमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढे पनि मृत्यु हुनेको संख्या भने निकै कम छ । त्यहाँ पछिल्लो २४ घण्टामा २१९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३४५ जना कोरोनामुक्त भएका छन् ।

महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै संक्रमित

भारतमा शुक्रबार थपिएका संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै छन् । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्रै ४६ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो स्थानमा रहेको दिल्लीमा २८ हजार ८६७ संक्रमित थपिएको समाचारमा जनाइएको छ ।

त्यस्तै, कर्नाटकमा २५ हजार ५, पश्चिम बंगालमा २३ हजार ४६७ र तमिलनाडुमा २० हजार ९११ जना नयाँ संक्रमित थपिएका छन् । यता भारतमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमितको संख्या बढेर ५ हजार ७५३ पुगेको छ ।

यसैबीच, बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राज्यका मुख्यमन्त्रीसँग भिडियो सम्मेलनमार्फत् कोभिड-१९ को अवस्थाबारे छलफल गरेका छन् । उक्त छलफलमा मोदीले केन्द्र तथा राज्य सरकारलाई कोभिड महामारीसँग जुध्न सामूहिक कदम चाल्न अपिल गरेका थिए ।

३०,पुष.२०७८,शुक्रबार ११:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्