अष्ट्रेलियामा कोरोना संक्रमितको नयाँ रेकर्ड : एकैदिन १ लाख ४७ हजार जना थपिए, ५३ जना संक्रमितको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा कोभिड-१९ का संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।

अष्ट्रेलियामा बिहीबार दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ । त्यहाँ आज एक लाख ४७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको अलजजिराले जनाएको छ । त्यस्तै, थप ५३ जना संक्रमितको मृत्यु भएको समाचारमा उल्लेख छ ।

तर अष्ट्रेलियामा ओमिक्रोनको लहरका क्रममा देखिएको मृत्यु दर यसअघिको भन्दा कम रहेको छ । त्यहाँ १६ वर्षमाथिका ९२ प्रतिशतभन्दा मानिसले कोभिड खोपको दोस्रो लडाइसकेका छन् । अस्पतालमा भर्ना हुने र आईसीयूमा उपचार गर्नेको कुल संख्या हालसम्मकै धेरै भएपछि स्वास्थ्य प्रणालीले बढ्दो संक्रमणसँग जुध्न सक्ने अधिकारीले बताएका छन् ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत हप्ता विश्वभर कोभिड-१९ बाट अहिलेसम्मकै धेरै मानिस संक्रमित भएको जनाएको छ । जनवरी २ देखि ९ गतेको अवधिमा विश्वभर १ करोड ५० लाख कोरोनाबाट संक्रमित भएको संगठनको भनाइ छ ।

बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले गत हप्ता थपिएका कोभिड संक्रमितको संख्या यसअघि साप्ताहिक रुपमा पुष्टि भएका भन्दा ५५ प्रतिशत बढी भएको जनाएका छन् । ओमिक्रोन भेरियन्टका कारण संक्रमितको संख्या अत्यधिक बढेको पनि उनले भनाइ थियो ।

निकै संक्रामक ओमिक्रोनले बिरामीलाई गम्भीर अवस्थामा पुर्‍याउने अवस्था डेल्टा भेरियन्टको भन्दा कम भए पनि खोप नलगाएकाका लागि यो भेरियन्ट घातक रहेको पनि गेब्रेयससले बताए ।

२९,पुष.२०७८,बिहीबार १२:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्