हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढेकामा चिन्ता व्यक्त

काठमाडौं । पर्वतारोहणमा जाने आरोहीहरूले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरू र छिमेकी मुलुकहरूबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरूले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरूमा माइक्रो प्लास्टिकका कणहरू पाइएकोबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मदत गरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड), डोको रिसाइक्लियरर्स र ब्लु वेष्ट टू भ्यालु नामक संस्थाद्वारा संयुक्त रुपमा यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले केही वर्षयता नेपालमा प्लास्टिकजन्य सामग्रीको आयात तथा उत्पादनमा वृद्धि भएसँगै यसले वातावरणमा पारेका नकारात्मक असरका बारेमा अध्ययन अनुसन्धान गरी समाधानका उपयुक्त विकल्पहरूका बारेमा राज्यले उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

प्लास्टिकजन्य प्रदूषणको समस्या विश्वव्यापीरुपमै बढ्दै गएको सन्दर्भमा आगामी फागुन १६ देखि १८ गतेसम्म केन्याको नैरोवीमा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलनमा छलफलका लागि प्रस्तुत हुने संयुक्त राष्ट्रसङ्घीय प्लास्टिक प्रदूषण महासन्धिको मस्यौदामा नेपालले हिमाली क्षेत्रमा प्लास्टिकको बढ्दो प्रदूषणको विषयलाई जोडदार रुपमा उठाउन पनि विज्ञहरूले सुझाव दिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले केही वर्षअघि सगरमाथाबाट सङ्कलन गरेको हिउँ र पानीको नमूनाको अध्ययनमा माइक्रो प्लास्टिकका कणहरू पाइएको तथ्यहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको समस्या बढ्दै जानुको एक मुख्य कारण औँल्याएको थियो ।

सो अवसरमा वन तथा वातावरणमन्त्री रामसहाय यादवले नेपालमा प्लास्टिकजन्य प्रदूषण बढ्दै गएकाले यसको रोकथाम, न्यूनीकरण एवं नियन्त्रणका कार्यहरूको प्रभावकारी कार्यान्वयनका लागि एक कार्ययोजना तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषद‍्मा पठाएको जानकारी गराए । उनले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण हुन नदिन हाम्रो आन्तरिक प्रयाससँगसँगै यस समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

२८,पुष.२०७८,बुधबार १३:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्