वागमतीमा पनि माओवादीको पदाधिकारीविहीन समिति, नेतृत्वको टुंगो भोलि लाग्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश समिति पनि पदाधिकारीविहीन बनेको छ । शनिबार सुरू भएको प्रथम सम्मेलनबाट २ सय ७५ जनाको प्रदेश समिति सर्वसम्मतरुपमा चयन भएको हो।

माओवादी नेता युवराज दुलालले प्रदेश समिति चयन भएको र भोलि बस्ने समितिको पहिलो बैठकबाट अध्यक्ष लगायतका पदाधिकारी चयन हुने जानकारी दिए । पदाधिकारी सहमतिबाटै टुंगो लगाउने उनको भनाइ छ ।

वागमती प्रदेश अध्यक्षका लागि तीनजना नेताको बलियो दाबेदारी देखिएको छ । प्रदेश अध्यक्षका लागि दोलखाका विशाल खड्का, सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतमको दाबी छ ।

प्रदेश अध्यक्षका दाबेदार खड्का माओवादी आन्दोलनका चर्चित युवा हुन् । हाल प्रदेशसभा सदस्यसमेत रहेका युवा नेता खड्का जनयुद्धकालमा ८ वर्ष जेल बसेका थिए । उनको परिवार नै माओवादी जनयुद्धमा मानक बनाउनेमा पर्छ ।

त्यस्तै अध्यक्षका अर्का दाबेदार सरल सहयात्री पनि माओवादीका स्थापित युवा नेता हुन् । जनयुद्धकालमा ब्रिगेड कमाण्डर रहेका उनी सेना समायोजनपछि पार्टी राजनीतिमा स्थापित भएका हुन् । उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए ।

सरल माओवादीका सांस्कृतिक संगठनका अध्यक्ष पनि हुन् । त्यस्तै अध्यक्षका अर्का दाबेदार दिनानाथ गौतम जनयुद्धकालका पुराना नेता हुन् ।

२७,मंसिर.२०७८,सोमबार १३:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्