राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न सरकार तथा लुम्बिनी विकास कोषलाई आग्रह

रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न सरकार तथा लुम्बिनी विकास कोषलाई आग्रह गरेकी छन् ।

लुम्बिनी विश्वविद्यालयको १७ औं वार्षिकोत्सवका अवसरमा आज लुम्बिनीमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व बोकेको लुम्बिनीको गरिमा उठाउन पनि गुरुयोजनाले विशेष महत्व राख्ने भएकाले ढिलाई गर्न नहुने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले लुम्बिनीको पुरात्वात्विक र सांस्कृतिक महत्वलाई पर्यटनसँग जोडेर अगाडि बढाउनसके अर्थतन्त्रमा पनि टेवा पुग्ने बताइन् ।

संसारका बुद्धधर्म मान्ने मात्र होइन शान्ति चाहने सबैले लुम्बिनीलाई विशेष महत्व राखेर हेरेका छन्, यहाँको विकासले नै हाम्रो समृद्धिको यात्रालाई अगाडि बढाउनसक्छ’, उनले भनिन् ।

भण्डारीले बुद्धजन्मस्थल र योसँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका विभिन्न बुद्धस्थललाई जोडेर विशेष योजना बनाउन आग्रह गरिन् ।

‘बुद्धका कालजयी उपदेशले संसारका शान्तिप्रेमीहरुको ध्यान तानिरहेको समयमा हामीले पाठ्यक्रममै यसलाई समेटेर अगाडि बढ्न सक्नुपर्दछ, स्थानीय र प्रदेश सरकारले पनि यसलाई जोडेर विशेष योजना बनाउनुपर्दछ’, भण्डारीले भनिन् ।

कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीसँग तिलौराकोट र रामग्रामलाई जोडेर विकास गरिनुपर्ने बताए ।

उनले बुद्धको शिक्षा नेपालीले लिन नसकेको बताउँदै यसले सबैलाई अनुशासनमा राख्न नसकेको बताए ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले पूर्ववर्ती सरकारले लुम्बिनीको विकासमा गरेको योजना सरकारले निरन्तरता दिएको बताए ।

उनले लुम्बिनी गुरुयोजना तथा बुद्ध शिक्षासँग जोडिएका विषयलाई तीनै तहका सरकारले विशेष चासोका साथ अगाडि बढाउने बताए ।

१६,मंसिर.२०७८,बिहीबार १६:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्