कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री शाही र हेलेनले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेतमा भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दुईपक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए । हेलेनको टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी समेत लिएको छ ।

प्रेस सल्लाहकार बुढाथोकीका अनुसार भेटमा प्रदेशमा महिला सशक्तीकरण, बालबालिका शिक्षा र कर्णाली प्रदेशको समग्र विकासका सम्बन्धमा पनि छलफल भएको छ ।

नेपाल पहिलो पटक संघीय अभ्यासमा रहेको भन्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले हाल कानून निर्माण, आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको र संघीय संरचना अनुसार सांगठनिक संरचना तयार भएको बताए ।

मुख्यमन्त्री शाहीले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको भन्दै प्रदेशमा बाह्य लगानीको आवश्यकता रहेको औंल्याए । नेपालको विकास बेलायतको निरन्तर सहयोग रहेकोप्रति पं्रशसा गर्दै शाहीले प्रदेशको विकास र समृद्धिको यात्रामा बेलायती सहयोगको अपेक्षा गरेको बताए ।

भेटवार्तामा मुख्यमन्त्री शाहीले बेलायती लगानीकर्ता इच्छुक भए स्वागत गर्न तयार रहेको पनि बताएको बुढाथोकीले जानकारी दिए ।

१८,आश्विन.२०७८,सोमबार १७:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्