३३ महिनाअघि शिलान्यास गरेको सडक अझै अधुरै

धनगढी । ७ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको वीपीनगरमा बोगटान– सहजपुर सडक कालोपत्रे शिलान्यास गरेका थिए ।त्यतिबेला ३० महिनाभित्र कालोपत्रे सक्ने गरी ठेक्का सम्झौता भए पनि ३३ महिना बितिसक्दा स्थानीय वासिन्दा अझै धुलाम्मे र हिलाम्मे सडकको यात्रा गर्न विवश छन् ।

डोटीको बोगटान र कैलालीको सहजपुर सँग जोड्ने ५० किलोमिटर लामो सडक ३० महिनाभित्र सम्पन्न गर्ने गरी पीएलआर–कुमार जेभीसँग ठेक्का सम्झौता भएको थियो । ३० महिनाभित्र काम नसकिएपछि थपिएको ६ महिनाको म्याद सकिने समय नजिकिँदै गर्दा पनि सडक उस्तै छ ।

‘तत्कालिन प्रधानमन्त्रीज्यूूले हेलीकप्टरमार्फत विपीनगर पुुगेर गफ मात्रै दिनुुभयो । वर्षातमा हिलो र सुुख्खायाममा धुुलो खप्नुुपर्ने हाम्रो बाध्यता उस्तै छ,’ कैलालीको चुुरे गाउँपालिका–३ को सहजपुुरका गंगाराम रिजालले भने ।

कालोपत्रे गरिसक्नुपर्ने समयमा ग्राभेलसम्म नभएको सडकमा ठाउँ–ठाउँमा पहिरो खसेर आवतजावत गर्न पनि मुश्किल छ । डोटीको जोरायल गाउँपालिका–५ गड्सेराका बिक्रान्त देउवाले आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरवाही काम हुन नसकेको बताए ।

‘मोटरसाइकलमा यात्रा गर्न सकिने अवस्था नै छैन’ उनले भने, ‘हाम्रो समस्या कसले देख्ने ? ३० महिनामा आधा काम पनि नभएर म्याद थपिएको थियो । फेरि थप्ने कुुरा सुुनिदैछ ।’

सहजपुर–बोगटान सडक आयोजना कार्यालयले भने ठेक्का सम्झौता भएको २७ महिनापछि मात्र रुख कटान आदेश पाएकाले काममा ढिलाइ भएको बताएको छ ।

कार्यालयका प्रमुख उज्वल श्रेष्ठले अहिलेसम्म ४२ प्रतिशत भौतिक प्रगति भएको बताए । ‘वन क्षेत्रको अवरोधका कारण २७ महिनासम्म र प्रतिकुल मौसमका कारण खासै काम गर्न सकिएको थिएन । अहिले सबै अवरोध हटेकाले अर्को वर्षको फागुुनसम्म काम सकिन्छ होला ।’

फेरि एक वर्ष म्याद थप्न माग

ठेकेदार कम्पनीले पहिलो पटक पाएको ३० महिनाको म्यादमा काम नसकेपछि गत असारमा पुनः ६ महिना थप गरिएको थियो । तर निर्माण व्यवसायीले फेरि एक वर्ष म्याद थप्न माग गरेका छन् । निर्माण व्यवसायीले दोस्रो पटक थपिएको समयभित्र काम नसकिने दाबी गर्दै म्याद थप्न माग गरेको सडक आयोजना कार्यालयले जनाएको छ ।

‘निर्माण व्यवसायीले एक वर्ष म्याद थपका लागि निवेदन दिएका छन्,’ आयोजना कार्यालय प्रमुुख श्रेष्ठले भने, ‘हामीले माथिल्लो निकायमा लेखी पठाएका छौं । सम्भवतः थपिन्छ होला ।’

हालसम्म विपीनगर खण्डको ३ किलोमिटर कालोपत्रे गरेको आयोजना कार्यालयले अगामी असार मसान्तसम्म ३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेको छ । बाँकी खण्डको काम २०७९ सालको फागुुनभित्र सम्पन्न गर्न सकिने कार्यालय प्रमुख श्रेष्ठले बताए ।

२६,भाद्र.२०७८,शनिबार १७:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्