जेनजी आन्दोलनमा कर्णाली प्रदेश सभामा ४ करोडको क्षति, पदाधिकारीलाई दसैँ भत्ता र तलब वितरण

वि.सं.२०८२ असोज ७ मंगलवार ०९:४७
shares

सुर्खेत । गत भदौ २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा सबै भन्दा धेरै क्षति कर्णाली प्रदेश सभामा भएको छ । आन्दोलनकारीहरूले सभाका सबै संरचनामा तोडफोड मात्रै गरेनन्, आगजनी गरेर सबै सामान जलाएर खरानी बनाइदिएका छन् ।
आगजनीबाट ४ करोडको क्षति भएको छ भने महत्त्वपूर्ण कागजात तथा संरचनाहरू जलेर नष्ट भएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए ।
उनका अनुसार, आन्दोलनकारीले लगाएको आगोका कारण प्रदेश सभाको मुख्य भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ । यो भवनमा सभामुख, उपसभामुख, मुख्यमन्त्री, सचिव र विपक्षी दलका नेतासहितका पदाधिकारीहरूको कार्यकक्ष थियो । सँगै जोडिएको मुख्य सभाहल पनि ध्वस्त भएको छ । दीक्षा समारोह, जुम मिटिङ जस्ता महत्त्वपूर्ण कार्यक्रम आयोजना हुने भवन पनि जलेर खरानी भएको छ ।
प्रदेश सभा भवनमात्र नभई प्रशासन सचिवालय, लेखा शाखा र जिन्सी शाखाका भवन पनि पूर्ण रूपमा जलेर खरानी भएका छन् । यद्यपि प्रदेश सभाअन्तर्गत रहेका विभिन्न समितिहरूका हलमध्ये सामाजिक विकास समिति र सार्वजनिक लेखा समितिका हल भने आंशिक क्षति भएको छ ।
आगजनीबाट कार्यालयमा रहेका सम्पूर्ण विद्युतीय उपकरण, फर्निचर र महत्त्वपूर्ण अभिलेख पनि नष्ट भएका छन् । सचिव बुढाथोकीका अनुसार ल्यापटप, कम्प्युटर, लाइभ सिस्टम, सीसीटीभी क्यामेरा सिस्टम, प्रोजेक्टर, टेबल, कुर्सी, दराज, र्याक, फाइल र सबै किसिमका अभिलेख जलेर सखाप भएका छन् ।
भौतिक संरचनाको अवस्था हेर्दा भवनका भित्ताहरू चर्किएका, प्लास्टर उप्किएका छन् भने जताततै आगोको धुवाँले कालो बनेका छन् । कतिपय संरचना भत्किएका अवस्थामा रहेको उनले जानकारी दिए ।
मुचुल्का तयार
सचिव बुढाथोकीले क्षतिको मुचुल्का (मूल्याङ्कन) तयार पारिएको र करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको बताए । मूल्याङ्कन विवरण प्रहरीको रोहबरमा भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालयमा पठाइएको उनको भनाइ छ ।
प्रदेश सभाका केही महत्त्वपूर्ण सामग्री भने जोगिएको छ । आन्दोलनकारीको समूह प्रदेश सभा भवनतिर जानुअघि नै सुरक्षित स्थानमा सारिएका १३ वटा गाडी, एक थान जेनेरेटर, वाटर पम्प र गेट सुरक्षित छन् । साथै, एक थान स्कुटर र केही मोटरसाइकल पनि क्षति हुनबाट जोगिएका छन् । हाल सभाका पदाधिकारीहरू आ–आफ्नो कार्यकक्षमा बस्न नसक्ने अवस्थामा छैनन् ।
आन्दो्लनपछि पदाधिकारीहरू सभातिर आउँदैनन् । कर्मचारीहरूले सामान्य दुई–तीन वटा कोठाबाट हाजिरी गर्ने र दैनिक कामकाज सञ्चालन गर्ने प्रयास भइरहेको सचिव बुढाथोकी बताउँछन् ।
दसैँको तलब भत्ता नियमित
कार्यालयका भौतिक संरचनाहरू ध्वस्त भए पनि पदाधिकारीहरूको तलब भत्ता वितरणको विषयमा सचिव बुढाथोकीले नियमअनुसार पाउनुपर्ने तलब भत्ता पठाइसकिएको बताए ।
दसैँका लागि समेत तलब भत्ता नियमअनुसार नै वितरण भइसकेको उनको भनाइ छ । त्यसका लागि अनलाइन प्रणाली (नयाँ भौचर) प्रयोग गरिएको उनले बताए ।