पर्सामा २१ वर्षका बशिष्ट कुमार बने गाउँपालिका अध्यक्ष

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।

बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।

दुई जना वडाध्यक्ष दोहोरिए

५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा ०७४ सालमा फोरमले २, कांग्रेस, जनता दल र माओवादीले १/१ वटा वडा अध्यक्ष जितेको थियो । यसपटक जसपा ३, कांग्रेस एमाले १/१ वडामा जित निकाल्न सफल भएका छन् ।

वडा नं १ मा जनता समाजवादी पार्टीका लालबाबु राउत बरै १४१८ मत ल्याएर विजयी भएका छन् । ०७४ मा यो वडामा कांग्रेसका शिवनाथ राउत थारु विजयी हुँदा लालबाबु दोस्रो भएका थिए ।

वडा नं २ र ३ मा पुरानौ वडा अध्यक्ष दोहोरिएका छन् । २ मा एमालेका सोनालालप्रसाद चौरसिया (५७२) विजयी हुँदा ३ मा जसपाका सञ्जय कुमार पटेल (६५०) पूनः निर्वाचित भएका छन् । चौरसिया ०७४ मा नेपाली जनता दलबाट निर्वाचित भएका थिए ।

वडा नं ४ मा नेपाली काँग्रेसका सञ्जय कुमार साह ७६९ मत ल्याएर विजयी भएका छन् । उनले निवर्तमान वडा अध्यक्ष जनता समाजवादी पार्टीका हरिओमकुमार शाहलाई पराजित गरेका हुन् ।

०७४ को स्थानीय तह निर्वाचनमा हरिओमले सञ्जयलाई पराजित गरेका थिए । वडा नं ५ मा जसपाका जय नारायण प्रसाद कुर्मी (७६६) मत ल्याएर विजयी भएका छन् , ०७४ को निर्वाचनमा कुर्मी माओवादी केन्द्रका पवन तिवारीसँग पराजित भएका थिए ।

४,जेष्ठ.२०७९,बुधबार १४:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्